न्याय प्रणालीमा प्रविधि र कृत्रिम बुद्धिमत्ता प्रयोगबारे नेपाल–बेलायत छलफल

ड्रागन मिडिया सम्वाददाता
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग बेलायतको सर्वोच्च अदालतका न्यायाधीश लर्ड ह्याम्ब्लेनसहितको प्रतिनिधिमण्डलले सोमबार मन्त्रालयमा शिष्टाचार भेट गरेको छ।
प्रतिनिधिमण्डलमा न्यायाधिकरणका वरिष्ठ अध्यक्ष लर्ड जस्टिस डिङ्गेमन्स, मार्क हिल केसी तथा नेपालका लागि बेलायती राजदूत रोब फेनसमेत सहभागी थिए। भेटका क्रममा बेलायती प्रतिनिधिमण्डलले नेपालमा हालै भएको दुःखद घटनाप्रति समवेदना व्यक्त गरेको थियो।
भेटमा नेपाल र बेलायतको न्यायिक प्रणाली, न्यायिक स्वतन्त्रता, न्यायमा पहुँच, मुद्दा व्यवस्थापन, मेलमिलाप, न्याय प्रणालीमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोग र विधिको शासनलगायत विषयमा अनुभव आदानप्रदान गरिएको थियो।
न्याय सम्पादनलाई थप प्रभावकारी, सहज र प्रविधिमैत्री बनाउने तथा नेपाल र बेलायतबीच कानुन तथा न्यायका क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।





