२३ भाद्र २०८३, मंगलवार

एकै परिवारका तीन जना बेपत्ता, भोटेकोशी बाढीले रोकाय परिवारमा असह्य पीडा

ड्रागन मिडिया सम्वाददाता

एकै परिवारका तीन जना बेपत्ता हुँदा त्योभन्दा ठूलो पीडा के हुन सक्छ? यस्तै अकल्पनीय पीडाबाट गुज्रिरहेका छन् नेपालगन्ज उपमहानगरपालिका–२० निवासी अनलाल रोकाय। भोटेकोशी बाढीमा छोरा, दाजु र भाउजु बेपत्ता भएपछि उनको परिवार शोक, आशा र अनिश्चितताको कठिन घडीमा छ।

रसुवा भन्सार कार्यालयको टिमुरे क्षेत्रमा काम गर्ने ५३ वर्षीय दाजु शेरसिंह रोकाय र ५६ वर्षीया भाउजु विष्णुमतिलाई भेट्न तथा गोसाइँकुण्ड तीर्थस्थल घुम्न गएका १९ वर्षीय छोरा दीपक रोकायसमेत बाढीपछि बेपत्ता छन्। बुढेसकालको सहारा एक्लो छोरा तथा अभिभावकका रूपमा रहेका दाजु र भाउजु एकैपटक सम्पर्कविहीन भएपछि थपुवास्थित रोकाय निवासमा अहिले शोक र सन्नाटा छाएको छ।

ढोकातिर हेर्दै ‘कतै फर्किहाल्छन् कि’ भन्ने झिनो आशा र मनभित्रको गहिरो निराशाबीच रोकाय परिवार आफ्ना प्रियजनको प्रतीक्षामा छ। समय बित्दै जाँदा जीवितै फर्किने आशा कमजोर हुँदै गए पनि उनीहरूको अवस्थाबारे आधिकारिक जानकारी पाउने प्रतीक्षा भने अझै समाप्त भएको छैन।

यही अकल्पनीय शोकको घडीमा स्थानीय वडावासी रोकाय परिवारको पीडामा साथ दिन अघि सरेका छन्। स्थानीयवासीको सक्रियतामा सङ्कलन गरिएको नगद राहतसहित नेपालगन्ज उपमहानगरपालिका–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाको नेतृत्वमा टोली सोमबार अनलालको निवास पुगेको थियो।

“अकल्पनीय पीडाको अगाडि यो रकम धेरै सानो हो,” कार्यवाहक वडाध्यक्ष बुढाले अनलाललाई सम्झाउँदै भने, “यो रकम मात्र होइन, सिङ्गो वडावासी तपाईंको साथमा छ। आगामी दिनमा बेपत्ताको खोजी र परिवारलाई आवश्यक पर्ने हरेक सहयोगमा हामी निरन्तर साथमै रहनेछौँ।”

परिवारका तीन सदस्य एकैपटक बेपत्ता भएपछि शोकमा डुबेका अनलालका लागि वडावासीको साथले थोरै भए पनि सहारा दिएको छ। “सहयोग सानो वा ठूलो भन्ने हुँदैन। दुःखको यो घडीमा वडावासीले खोजी कार्यदेखि आर्थिक सहयोगसम्म गरेर हाम्रो पीडामा मलम लगाउने काम गर्नुभएको छ,” उनले गहभरि आँसु पार्दै वडावासीप्रति आभार व्यक्त गरे।

आफ्ना प्रियजन जीवितै फर्किने आशा क्रमशः क्षीण हुँदै जाँदा रोकाय परिवार अहिले कम्तीमा शव पहिचान भएर अन्तिम संस्कार गर्न पाइयोस् भन्ने पर्खाइमा समेत छ। बाढीपछि फेला परेका शवसँग पहिचान मिलान गर्न डीएनए परीक्षणका लागि नमुना पठाइएको अनलालले बताए।

“कम्तीमा डीएनए रिपोर्ट मिलेपछि दाजु, भाउजु र छोराको अवस्था आधिकारिक रूपमा थाहा हुन्थ्यो,” उनले आशा र निराशाबीच भने।

भोटेकोशीको विनाशकारी बाढीमा बाँके जिल्लाका मात्रै २३ जना बेपत्ता भएका छन्। बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार हालसम्म ३२ जनाको सकुशल उद्धार गरिएको छ भने तीन जनाको सनाखत भएको छ।

बाँकी बेपत्ताका परिवारका लागि भने हरेक दिन आफ्ना प्रियजनको सम्झना, असह्य पीडा र अन्त्य नदेखिएको प्रतीक्षामा बितिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button