२३ भाद्र २०८३, मंगलवार

अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसमा दीप प्रज्वलन, भोटेकोशी बाढीका मृतक र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत इन्टरपोल शाखा नक्सालको आयोजनामा अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसका अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भोटेकोशी बाढीमा ज्यान गुमाएका नेपाली नागरिक तथा कर्तव्यपालनाका क्रममा दिवंगत भएका नेपाल प्रहरीलगायत अन्य सुरक्षाकर्मीको स्मृतिमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।

भोटेकोशी बाढी आएको १३औँ दिन तथा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा आयोजित कार्यक्रममा विपदमा ज्यान गुमाएकाप्रति सम्मान व्यक्त गरिएको नेपाल प्रहरीले जनाएको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको व्यवहारिक पक्ष र महत्व देखाउने सत्य घटनामा आधारित वृत्तचित्रको शुभारम्भ गरे। वृत्तचित्रमा विभिन्न देशका प्रहरीबीच हुने सहकार्य, सूचना आदानप्रदान र समन्वयले अन्तरदेशीय अपराध अनुसन्धान तथा नियन्त्रणमा पुर्‍याउने योगदान प्रस्तुत गरिएको छ।

अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस प्रत्येक वर्ष सेप्टेम्बर ७ मा मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२२ मा यो दिवस घोषणा गरेको हो। विभिन्न मुलुकका प्रहरी संगठनबीच सहकार्य, सूचना आदानप्रदान र समन्वय सुदृढ गर्दै अन्तरदेशीय अपराध नियन्त्रण तथा शान्ति सुरक्षामा योगदान पुर्‍याउनु दिवसको मुख्य उद्देश्य हो।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत, सञ्चारकर्मी तथा अन्य आमन्त्रित व्यक्तिहरूको उपस्थिति थियो।

तस्बिर : नेपाल प्रहरीको फेसबुक पोस्टबाट साभार

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button