चिलिमे सुरुङ उद्धारमा नेपाल–भारत संयुक्त प्राविधिक टोली सक्रिय

ड्रागन मिडिया सम्वाददाता
रसुवाको चिलिमे जलविद्युत् आयोजनामा बाढीपछि जारी खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन नेपाल र भारतको संयुक्त प्राविधिक टोली परिचालन गरिएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले चिलिमे क्षेत्रमा भारतीय टोलीसहित निरन्तर समन्वयमा काम भइरहेको जानकारी दिएका छन्।
राजदूत श्रीवास्तवका अनुसार संयुक्त प्राविधिक टोलीले सुरुङभित्र प्रवेश गर्न आवश्यक सुरक्षा डोरीको जडान गरेको छ। सुरुङभित्र जमेको हिलो तथा लेदो हटाउन ठूलो क्षमताका मड पम्प र जेनेरेटरसमेत घटनास्थलमा पुर्याइएको छ।
उद्धार टोलीलाई सुरुङसम्म पुग्न सहज बनाउन आवश्यक सडक खोल्ने काम पनि अघि बढाइएको छ। कठिन भूगोल, बाढीले पुर्याएको क्षति तथा सुरुङभित्र जमेको लेदोका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको अवस्थामा प्राविधिक उपकरण र सुरक्षित पहुँच निर्माणलाई प्राथमिकता दिइएको छ।
चिलिमे क्षेत्रमा यसअघि नेपाली सेना र भारतीय उद्धार टोलीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य सञ्चालन गर्दै आएका छन्। बाढीपछि सुरुङ तथा आयोजना क्षेत्रमा सम्पर्कविहीन भएकाहरूको खोजी जारी छ।





