जेनजी सहिद स्मृति दिवस कार्यक्रममा आन्दोलनका घाइते पवन खड्का पक्राउ

ड्रागन मिडिया सम्वाददाता
काठमाडौँमा आज आयोजित जेनजी सहिद स्मृति दिवस कार्यक्रममा सहभागी हुन पुगेका जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले कार्यक्रमस्थलबाट नियन्त्रणमा लिएको छ।
जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त पुरानो संसद भवनमा आयोजित स्मृति कार्यक्रममा खड्का सहभागी भएका थिए। कार्यक्रममा जेनजी आन्दोलन र त्यसका घाइते तथा सहिदका विषयमा धारणा राख्ने क्रममा विवाद उत्पन्न भएको बताइएको छ।
प्रत्यक्षदर्शी विवरणअनुसार खड्का जेनजी आन्दोलनका पक्षमा बोलिरहेका बेला कार्यक्रममा सहभागी केही व्यक्तिले हुटिङ गरेका थिए। त्यसपछि उनले आफूलाई बोल्न दिनुपर्ने भन्दै आफ्नो धारणा राख्ने प्रयास गरेका थिए।
सोही क्रममा जेनजीको एउटा समूहसँग उनको विवाद भएको र उनीमाथि दुर्व्यवहारसमेत भएको बताइएको छ। त्यसपछि कार्यक्रमस्थलमा रहेका प्रहरीले खड्कालाई नियन्त्रणमा लिएका हुन्।
घटनापछि जेनजी आन्दोलनका घाइतेलाई नै किन नियन्त्रणमा लिइयो भन्ने प्रश्न उठेको छ। खड्कामाथि दुर्व्यवहार गर्ने भनिएको समूहका सदस्यविरुद्ध तत्काल कुनै कारवाही भएको वा नभएकोबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन।
प्रहरीले खड्कालाई नियन्त्रणमा लिनुको औपचारिक कारण तथा उनलाई कहाँ राखिएको छ भन्नेबारे पनि तत्काल विस्तृत जानकारी सार्वजनिक गरिएको छैन।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित सहिद स्मृति कार्यक्रममा आन्दोलनकै घाइते पक्राउ परेको घटनाले कार्यक्रमस्थलमा केही समय तनाव सिर्जना गरेको थियो।





