२३ भाद्र २०८३, मंगलवार

नर्वेमा अमेरिकी क्षेप्यास्त्र प्रणाली तैनाथीप्रति रुसको कडा चेतावनी

ड्रागन मिडिया समाचार कक्ष

रुसले नर्वेमा मध्यम तथा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गर्न सक्ने अमेरिकी प्रणाली तैनाथ गरिएकोप्रति कडा आपत्ति जनाउँदै यसलाई उत्तर एटलान्टिक सन्धि संगठन नेटोका मुलुकहरूले गर्दै आएको गम्भीर अस्थिरताजन्य गतिविधिको अर्को कदमका रूपमा व्याख्या गरेको छ।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले सेप्टेम्बर ७ मा आरबीसीको प्रश्नको जवाफ दिँदै युरोपमा अमेरिकी क्षेप्यास्त्र प्रणालीको विस्तारले रुसको सुरक्षा वातावरण थप जटिल बनाएको बताइन्। उनका अनुसार नेटोले युरोपमा जमिनबाट प्रक्षेपण गरिने मध्यम तथा छोटो दूरीका क्षेप्यास्त्र तैनाथ गर्ने आफ्नो योजना लुकाएको छैन र रुसको भूभागभित्र गहिरोसम्म प्रहार गर्न सक्ने क्षमता विकास गर्ने उद्देश्य खुला रूपमा प्रस्तुत गरिरहेको छ।

जाखारोभाले नेटोले यससँगै महत्वपूर्ण सैन्य, व्यापारिक तथा यातायात मार्ग रहेका विशाल समुद्री क्षेत्रमा पनि प्रभावकारी नियन्त्रण कायम गर्ने प्रयास गरिरहेको आरोप लगाइन्। नर्वेमा तैनाथ गरिएको अमेरिकी प्रणालीमा एमके–४१ प्रक्षेपण प्रणाली रहेको र त्यसबाट स्थल तथा समुद्री दुवै लक्ष्यमा प्रहार गर्न सक्ने विभिन्न प्रकारका क्षेप्यास्त्र प्रक्षेपण गर्न सकिने उनको भनाइ छ।

रुसी पक्षका अनुसार एमके–४१ प्रणालीबाट लामो दूरीका टोमहक क्रुज क्षेप्यास्त्रसमेत प्रक्षेपण गर्न सकिन्छ। नर्वेमा यस्तो प्रणालीको तैनाथीपछि मस्कोसहित रुसको युरोपेली भूभागको ठूलो हिस्सा यसको सम्भावित प्रहार दायराभित्र पर्ने जाखारोभाले बताइन्।

उनले यस्ता क्षेप्यास्त्र प्रणालीलाई नेटो मुलुकहरूले रुसविरुद्ध रणनीतिक स्तरका उद्देश्य पूरा गर्न प्रयोग गर्न सक्ने दाबी गर्दै वासिङ्टन र ओस्लोले आफ्नो निर्णयको सम्भावित परिणामबारे सचेत हुनुपर्ने चेतावनी दिइन्।

जाखारोभाका अनुसार रुसले लिने प्रत्युत्तरात्मक कदमअन्तर्गत अमेरिकी क्षेप्यास्त्र प्रणाली तैनाथ गरिएका स्थान, तिनका कमान्ड तथा नियन्त्रण केन्द्र र ती प्रणाली सञ्चालनमा सहयोग गर्ने पूर्वाधार रुसी रणनीतिक प्रतिरोध क्षमताको विशेष प्राथमिकतामा पर्नेछन्। सशस्त्र द्वन्द्वको अवस्था उत्पन्न भएमा सम्बन्धित प्रहार साधनको प्रयोग योजनामा समेत ती संरचनालाई समेटिने उनले स्पष्ट पारिन्।

रुस र अमेरिकाबीचको रणनीतिक स्थिरता संवादबारे जाखारोभाले उक्त प्रक्रिया केवल रोकिएको नभई जो बाइडेन प्रशासनले एकतर्फी रूपमा स्थगित गरेको दाबी गरिन्। वर्तमान अमेरिकी प्रशासनले चीनको अनिवार्य सहभागितासहित बहुपक्षीय वार्ताको सम्भावना उठाइरहेको भए पनि बेइजिङले अहिले त्यस्तो प्रक्रियामा सहभागी नहुने आफ्नो आधार स्पष्ट गर्दै आएको उनले बताइन्।

जाखारोभाले वर्तमान परिस्थितिमा अमेरिका र रुसबीच सार्थक तथा परिणाममुखी रणनीतिक संवादका लागि आवश्यक अवस्था नरहेको मस्कोको धारणा दोहोर्‍याइन्। युरोपमा रुसलाई लक्षित गर्न सक्ने अमेरिकी मध्यम तथा छोटो दूरीका जमिनबाट प्रक्षेपण हुने क्षेप्यास्त्र प्रणालीको तैनाथीले अमेरिकासँग रचनात्मक रणनीतिक वार्ताको आधार झन कमजोर बनाउने उनको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button