जेन–जी शहीदको सपना कुनै दल वा व्यक्तिको निजी सम्पत्ति होइन : कांग्रेस

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसले जेन–जी शहीदहरूको सपना कुनै दल वा व्यक्तिको निजी राजनीतिक सम्पत्ति नभएको बताउँदै त्यसलाई राज्यको नीति, शासन र व्यवहारमा रूपान्तरण गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ। जेन–जी विद्रोहको एक वर्ष पूरा भएको अवसरमा कांग्रेस नेता भीष्मराज आङ्देम्बेले विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
आङ्देम्बेले जेन–जी शहीदहरूको सपना नेपाली समाज परिवर्तनको साझा आकांक्षा भएको उल्लेख गर्दै त्यसलाई सत्ता प्राप्तिको राजनीतिक उपलब्धिमा मात्र सीमित गर्न नहुने बताए। जेन–जीको बलिदानलाई सत्तामा पुग्ने भर्याङका रूपमा प्रयोग गरेर उनीहरूले उठाएका मूल प्रश्न बेवास्ता गर्ने अधिकार वर्तमान सरकारलाई नभएको उनको भनाइ छ।
सरकारले आफूलाई जेन–जी आन्दोलनको राजनीतिक उपलब्धिको प्रतिनिधि ठान्ने हो भने आफ्नै शासनशैली आन्दोलनका मूल्य, मान्यता र अपेक्षासँग मेल खाने प्रमाणित गर्नुपर्ने उनले बताए। व्यक्ति परिवर्तनभन्दा राज्य सञ्चालनको संस्कार परिवर्तन जेन–जी आन्दोलनको मूल चाहना रहेको उल्लेख गर्दै उनले आलोचनालाई शत्रुको बोली नठान्न र प्रश्न गर्ने नागरिकलाई दण्डित गर्ने प्रवृत्ति त्याग्न आग्रह गरे।
आङ्देम्बेले आन्दोलनका घाइतेहरूको दीर्घकालीन उपचार, पुनर्स्थापना र आवश्यक सहयोग सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। साथै जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिस तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
उनले भदौ २३ को प्रदर्शनमा घुसपैठ गरी आन्दोलनलाई हिंसात्मक बनाउन उक्साइएको, तत्कालीन सरकारले अत्यधिक बल प्रयोग गरेको तथा भदौ २४ मा आगजनी, तोडफोड र विध्वंस भएको भन्दै यी सबै घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्। घटनामा संलग्न जोसुकै भए पनि राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा उन्मुक्ति दिन नहुने उनको भनाइ छ।
कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी अत्यधिक बल प्रयोग, घुसपैठ, आगजनी, सार्वजनिक तथा निजी सम्पत्तिको विनाश र हिंसामा संलग्न सबै पक्षलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेको छ।





