युनिलिभर नेपालद्वारा बाढी प्रभावितका लागि करिब ६ करोड रुपैयाँ बराबर सहयोग

ड्रागन मिडिया सम्वाददाता
युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ प्रदान गरेको छ।
कम्पनीले उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ। बाढीबाट प्रभावित समुदायलाई तत्काल राहत पुर्याउने उद्देश्यले आर्थिक सहयोगसँगै आवश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत उपलब्ध गराइएको छ।
युनिलिभर नेपालका अनुसार करिब २६ टन अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्री राहतस्वरूप प्रदान गरिएको छ। ती सामग्रीको अनुमानित मूल्य करिब १ करोड रुपैयाँ रहेको छ।
यसअनुसार ५ करोड रुपैयाँ नगद सहयोग र करिब १ करोड रुपैयाँ बराबरका स्वास्थ्य तथा सरसफाइ सामग्री गरी कम्पनीको कुल योगदान करिब ६ करोड रुपैयाँ पुगेको छ।
बाढीपछि प्रदूषण, दूषित पानी तथा संक्रमणको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रभावित समुदायमा व्यक्तिगत तथा वातावरणीय सरसफाइ कायम राख्न सहयोग पुग्ने सामग्री प्राथमिकताका साथ उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
राहत सामग्रीमा साबुन, स्याम्पु, टुथपेस्ट, भाँडा धुने साबुनलगायत दैनिक जीवनमा आवश्यक सरसफाइ सामग्री समावेश छन्।
कम्पनीले विपद प्रभावित नागरिकको तत्काल आवश्यकतालाई सम्बोधन गर्नुका साथै राहतपछि शुरु हुने पुनर्स्थापना प्रक्रियामा समेत सहयोग पुर्याउने उद्देश्यले योगदान गरिएको जनाएको छ।
बाढीका कारण ठूलो संख्यामा नागरिक प्रभावित भएको अवस्थामा निजी क्षेत्रबाट प्राप्त यस्तो सहयोगले सरकारी राहत तथा पुनर्स्थापना प्रयासलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।





