नेपालको बाढी प्रतिकार्य र पुनःस्थापनामा सहयोग गर्न अमेरिकी वरिष्ठ कूटनीतिज्ञ मेगन बोल्डिन काठमाडौंमा

ड्रागन मिडिया सम्वाददाता
नेपालमा हालै आएको विनाशकारी बाढीपछि उद्धार, प्रतिकार्य तथा पुनःस्थापना कार्यमा अमेरिकी सहयोगको समन्वय थप सुदृढ गर्न ढाकास्थित अमेरिकी दूतावासकी वरिष्ठ कूटनीतिज्ञ मेगन बोल्डिन केही महिनाका लागि काठमाडौंमा खटिएकी छन्।
काठमाडौंस्थित अमेरिकी दूतावासले बोल्डिनलाई स्वागत गर्दै उनले आगामी केही महिनासम्म नेपालमा जारी विपद प्रतिकार्य तथा पुनःस्थापनासम्बन्धी अमेरिकी प्रयासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने जनाएको छ।
दूतावासका अनुसार बोल्डिनले काठमाडौंस्थित अमेरिकी दूतावासका चार्ज डे अफेयर्स स्कट अर्बमसँग सहकार्य गर्दै बाढी प्रभावित क्षेत्रमा अमेरिकी सहायता, उद्धारपछिको पुनःस्थापना तथा सम्बन्धित निकायसँगको समन्वयमा काम गर्नेछिन्।
नेपालमा आएको बाढीपछि अमेरिकाले राहत सामग्री, मानवीय सहायता तथा पुनःस्थापनासम्बन्धी सहयोग उपलब्ध गराउँदै आएको छ। बोल्डिनको अस्थायी जिम्मेवारीलाई विपदपछिको अमेरिकी सहयोगलाई उच्चस्तरीय समन्वयमार्फत थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।
बोल्डिन सन् २०२४ को अगस्टदेखि बंगलादेशको राजधानी ढाकास्थित अमेरिकी दूतावासमा उपनियोग प्रमुखका रूपमा कार्यरत छिन्। उनीसँग संकट व्यवस्थापन, कूटनीति र नेतृत्वसम्बन्धी लामो अनुभव रहेको अमेरिकी दूतावासले जनाएको छ।
यसअघि उनले युक्रेन, इराक र बंगलादेशमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालिसकेकी छन्। त्यस्तै वासिङ्टनस्थित अमेरिकी विदेश मन्त्रालयको अपरेसन सेन्टरमा समेत काम गरेको अनुभव उनीसँग छ।
विशेषगरी संकटग्रस्त तथा संवेदनशील परिस्थितिमा काम गरेको अनुभवका कारण बोल्डिनलाई नेपालमा जारी बाढीपछिको प्रतिकार्य र पुनःस्थापनासम्बन्धी प्रयासमा सहभागी गराइएको बताइएको छ।
नेपालमा ठूलो जनधनको क्षति पुर्याएको पछिल्लो बाढीपछि विभिन्न मित्रराष्ट्र र अन्तर्राष्ट्रिय साझेदारले खोज तथा उद्धार, राहत, स्वास्थ्य, अस्थायी आवास र पुनःस्थापनामा सहयोग गरिरहेका छन्। अमेरिकी दूतावासले पनि नेपाल सरकार तथा स्थानीय साझेदारसँग समन्वय गर्दै दीर्घकालीन पुनःस्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
बोल्डिनको काठमाडौं आगमनसँगै अमेरिकी दूतावासले विपद प्रतिकार्यबाट पुनःस्थापनातर्फ अघि बढिरहेको नेपाललाई आवश्यक सहयोग र समन्वय निरन्तरता दिने संकेत गरेको छ।





