जेनजी स्मृतिसभामाथि रास्वपा सचेतक क्रान्तिशिखाको प्रश्न : ‘शहीदलाई सम्झेको कि बेइज्जत गरेको?’

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा नयाँ बानेश्वरमा आयोजित स्मृति कार्यक्रमप्रति गम्भीर असन्तुष्टि जनाएकी छन्। कार्यक्रमले जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूको भावना समेट्न नसकेको भन्दै उनले यसको स्वरूप, प्रस्तुति र नेतृत्वको व्यवहारमाथि प्रश्न उठाएकी हुन्।
जेनजी शहीद कल्याणकारी समाजले नयाँ बानेश्वरस्थित पुरानो संसद भवनअगाडि गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा स्मृति कार्यक्रम आयोजना गरेको थियो। धितालले कार्यक्रमको मञ्चको बनोट, धर्मगुरुहरूको उपस्थिति र समग्र प्रस्तुतिले आन्दोलनका क्रममा सन्तान गुमाएका परिवार तथा शरीरमा अझै घाउ बोकेर बाँचिरहेका घाइतेहरूको पीडालाई कसरी सम्बोधन गर्यो भन्ने प्रश्न गरेकी छन्।
उनले सामाजिक सञ्जालमार्फत कार्यक्रमप्रति असन्तुष्टि व्यक्त गर्दै लेखेकी छन्, “मलाई थाहा छैन, त्यो स्टेज किन त्यसरी खडा गरियो? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो? त्यो कार्यक्रमले ती परिवारको पीडा कसरी सम्बोधन गर्यो, जसले आफ्ना सन्तान गुमाएका छन्, जसका शरीरमा आज पनि आन्दोलनका घाउ छन्, तिनले के बुझे मलाई थाहा छैन।”
आन्दोलनको आवाजलाई अगाडि बढाउने र सरकारका काममाथि प्रश्न उठाउँदै आएका व्यक्तिहरूले समेत कार्यक्रमको स्वरूपप्रति समयमै हस्तक्षेप गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाएकी छन्। उनका अनुसार जेनजी आन्दोलन केवल सत्ता परिवर्तनको घटना थिएन, यसले नागरिकको आवाज, संवेदनशीलता र राज्यको जवाफदेहिताको प्रश्न उठाएको थियो।
“जसले जेनजीको आवाजलाई अगाडि बढाए, जसले सरकारका काममाथि निरन्तर प्रश्न उठाए, उनीहरूले आज यो कार्यक्रम यसरी हुनु हुँदैन भनेर हस्तक्षेप गर्न किन सकेनन्?” धितालले प्रश्न गरेकी छन्।
उनले पछिल्लो एक वर्षमा नेपाली समाजमा अरूको पीडा र भावनालाई महसुस गर्ने क्षमता कमजोर हुँदै गएको टिप्पणीसमेत गरेकी छन्। परिवर्तनको नाममा शक्ति प्राप्त गरेपछि आफूमाथि प्रश्न गर्नेहरूलाई असहिष्णु ढङ्गले हेर्ने प्रवृत्ति बढेको उनको संकेत छ।
धितालले गत वर्ष आफूहरू प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सत्ता निरंकुश नबनोस् भन्ने माग लिएर सडकमा उत्रिएको स्मरण गराएकी छन्। अहिले भने आफूमाथि प्रश्न गर्नेहरूलाई धम्की र चेतावनीको भाषा प्रयोग गर्न थालिएको भन्दै उनले त्यसलाई जेनजी आन्दोलनको मूल भावनासँग तुलना गरेकी छन्।
कार्यक्रममा गृहमन्त्री गुरुङले पत्रकारहरूलाई “सुध्रिन” चेतावनी दिएको प्रसङ्गलाई लक्षित गर्दै धितालले प्रश्न गरेकी छन्, “पोहोर साल हामीले नै हैन प्रेस स्वतन्त्र होस्, सत्ता निरंकुश नबनोस्, जसको जुन स्थान हो, ऊ त्यही स्थानमा बसोस् भनेर सडकमा उत्रिएको? हामीले राज्यलाई प्रश्न गरेका थियौँ। सत्तालाई विनम्र हुन भनेका थियौँ। अहिले हामीमाथि प्रश्न गर्नेहरूलाई किन हामी धम्की र चेतावनीको भाषा बोल्दै छौँ?”
उनले सुधार अरूले मात्र गर्नुपर्ने र सत्ता वा नेतृत्वमा पुगेकाहरूले आत्मसमीक्षा गर्नुनपर्ने सोच स्वीकार्य नहुने बताएकी छन्। “अरूले सुध्रिनु पर्ने, हामीले चाहिँ नपर्ने? यही दिन देख्नलाई थियो महान शहीदहरूको बलिदान?” उनको प्रश्न छ।
आफूमाथि वा आफ्ना निकट व्यक्तिमाथि आलोचना आउनेबित्तिकै सामाजिक सञ्जालमा गालीगलौज गर्ने प्रवृत्तिमाथि पनि धितालले प्रश्न उठाएकी छन्। आलोचना गर्नुअघि त्यही परिस्थितिमा आफ्नै आमा, दिदी वा बहिनीलाई राखेर सोच्न उनले आग्रह गरेकी छन्।
“प्रश्न अब आफ्नै मान्छेले सोध्न थाल्नेछन्। तपाईं स्ट्याटस के आउला भन्दै ढुकी बसेर सबैलाई सराप्न थाल्नुहुन्छ? दिनमा यसरी कतिलाई गाली गरेर निदाउनुहुन्छ? गाली बक्नुअघि त्यो ठाउँमा आफ्नै आमा, दिदीबहिनीलाई राखेर हेर्नुहुन्न?” उनले भनेकी छन्।
धितालको मूल प्रश्न स्मृति दिवसको औपचारिकताभन्दा पनि जेनजी आन्दोलनले स्थापित गर्न खोजेको राजनीतिक संस्कृतिसँग जोडिएको छ। सत्ता, प्रेस स्वतन्त्रता, आलोचनाको अधिकार, नेतृत्वको विनम्रता र शहीद तथा घाइतेप्रतिको संवेदनशीलताबाट परिवर्तनको दाबी गर्नेहरू स्वयं विचलित हुन थालेका हुन् कि होइनन् भन्ने प्रश्न उनले उठाएकी छन्।
जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा गरिएको स्मरणलाई लिएर उनले अन्ततः प्रश्न गरेकी छन्, “जेनजी शहीदलाई सम्झेको कि बेइज्जत गरेको?”





