२४ भाद्र २०८३, बुधबार

जेनजी सहिद दिवसकै दिन आफ्नै सरकारमाथि रास्वपाका नेताहरूको कडा असन्तुष्टि

ड्रागन मिडिया सम्वाददाता

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमै सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरूले आफ्नै सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्। रास्वपाका महामन्त्री विपिन आचार्य, सचेतक क्रान्तिशिखा धिताल र सांसद अमरेश सिंहले सामाजिक सञ्जालमार्फत सरकारमाथि प्रश्न उठाउँदै जेनजी आन्दोलनको मर्म, सहिद र घाइतेप्रतिको संवेदनशीलता तथा सरकारको पछिल्लो कार्यशैलीबारे आलोचना गरेका हुन्।

भदौ १० को भोटेकोशी बाढीपछि उद्धार र राहत कार्यमा सरकारको भूमिकामाथि आलोचना भइरहेका बेला सत्तापक्षकै नेताहरूबाट आएको यस्तो असन्तुष्टिले सरकारमाथि राजनीतिक दबाब बढाएको छ। जेनजी आन्दोलनको पहिलो वार्षिकीका दिन सरकारका मन्त्रीहरू विभिन्न औपचारिक कार्यक्रममा सहभागी भइरहेका बेला रास्वपाभित्रबाटै सार्वजनिक आलोचना आएको हो।

रास्वपा महामन्त्री विपिन आचार्यले सरकारको कार्यशैलीप्रति सांकेतिक तर कडा टिप्पणी गर्दै संस्कृत उक्ति प्रयोग गरेका छन्। उनले फेसबुकमा “अहङ्कारः विनाशस्य मूलम्” अर्थात अहङ्कार नै विनाशको मूल कारण हो भन्ने लेखेका छन्। उनको टिप्पणीलाई सरकार र सत्ता साझेदारबीच बढ्दो असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।

सचेतक क्रान्तिशिखा धितालले नयाँ बानेश्वरस्थित पुरानो संसद भवनअगाडि आयोजित जेनजी आन्दोलन स्मृति कार्यक्रमको स्वरूपमाथि प्रश्न उठाएकी छन्। कार्यक्रममा धार्मिक पात्रहरू श्रीनिवास आचार्य र विष्णु प्रपन्नाचार्यलाई प्रमुख स्थान दिइएको भन्दै उनले त्यसले सहिद परिवार र घाइतेहरूको भावनालाई सम्मान गर्न नसकेको टिप्पणी गरेकी छन्।

गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहभागी उक्त कार्यक्रममा धार्मिक व्यक्तित्वहरूको प्रस्तुति र मञ्च व्यवस्थापनप्रति धितालले असन्तुष्टि जनाएकी हुन्। आन्दोलनको नेतृत्व र आवाजलाई अगाडि बढाउनेहरूले यस्तो शैलीमाथि समयमै प्रश्न उठाउन नसक्नु दुःखद भएको उनको भनाइ छ।

सांसद अमरेश सिंहले पनि कार्यक्रमको तस्बिर र व्यवस्थापनलाई लिएर सरकारको आलोचना गरेका छन्। विवादास्पद धार्मिक पात्रहरूलाई अगाडि र मन्त्रीहरूलाई पछाडि राखिएको भन्दै उनले सरकारबाट के सन्देश दिन खोजिएको हो भन्ने प्रश्न उठाएका छन्।

सिंहले संविधान, समावेशिता र राज्यको चरित्रसँग सम्बन्धित प्रश्न उठाउँदै देशका लागि काम गर्ने व्यक्तिहरूलाई पाखा लगाएर विवादित पात्रलाई महत्व दिन नमिल्ने बताएका छन्। आफ्नै निर्णयमा टिक्न नसक्ने र विवादास्पद गतिविधिमा अल्झिने सरकारी प्रवृत्तिले जेनजी आन्दोलनको भावनामाथि चोट पुर्‍याएको उनको आरोप छ।

रास्वपाका नेताहरूको असन्तुष्टिसँगै जेनजी आन्दोलनका केही अभियन्ताहरू पनि सरकारप्रति आक्रोशित देखिएका छन्। रक्षा बम र तनुजा पाण्डेले स्मृति कार्यक्रमको स्वरूपले सहिदको सम्मान गर्न नसकेको र आन्दोलनको मूल मर्म कमजोर बनाएको आरोप लगाएका छन्।

अभियन्ता रक्षा बमले सहिदहरूको तस्बिर मञ्चभन्दा तल राखिएको र मन्त्रीहरू माथिल्लो भागमा उभिएको भन्दै त्यसलाई असंवेदनशील प्रस्तुति भनेकी छन्। उनका अनुसार सहिदप्रतिको सम्मान, पारदर्शिता र जवाफदेहिताको आवाज उठ्नुपर्ने दिन कार्यक्रमको स्वरूप नै विवादमा परेको छ।

तनुजा पाण्डेले पनि मन्त्रीहरूले सहिद परिवार र घाइतेको पीडा सम्बोधन गर्नुभन्दा आफ्नो प्रशंसा र विरोधीप्रतिको कठोर भाषालाई प्राथमिकता दिएको आरोप लगाएकी छन्। आफ्ना पीडा सुनाउन खोज्ने घाइतेहरूलाई डर र दबाबको वातावरण सिर्जना गरिएको भए त्यो निन्दनीय हुने उनको भनाइ छ।

जेनजी आन्दोलनको पहिलो वार्षिकीमा देखिएको यो असन्तुष्टिले सरकारभित्र र आन्दोलनसँग जोडिएका समूहबीचको दूरीलाई सतहमा ल्याएको छ। एक वर्षअघि राज्यको कार्यशैली, अभिव्यक्ति स्वतन्त्रता, जवाफदेहिता र सत्ता व्यवहारमाथि प्रश्न उठाउँदै शुरु भएको आन्दोलनपछि बनेको राजनीतिक परिस्थितिमै अहिले सत्ता साझेदार दलका नेताहरूले सरकारलाई आत्मसमीक्षाको प्रश्न सोध्न थालेका छन्।

यसले जेनजी आन्दोलनले उठाएका मुद्दा केवल सत्ता परिवर्तनमा सीमित थिए वा शासन शैली, राजनीतिक संस्कार, प्रेस स्वतन्त्रता, सहिदको सम्मान र नागरिकप्रतिको उत्तरदायित्वसम्म पुग्नुपर्ने थियो भन्ने बहसलाई पुनः तीव्र बनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button