२४ भाद्र २०८३, बुधबार

जनतासँग सम्बन्ध टाढिँदा एमाले कमजोर भयो : प्रदीप ज्ञवाली

ड्रागन मिडिया सम्वाददाता

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी जनतासँगको सम्बन्धबाट टाढिँदै गएको कारण कमजोर बनेको बताएका छन्। पार्टीको कार्यशैली जनपरिचालन र नागरिकका मुद्दाभन्दा सरकारी संयन्त्र, सरुवा र प्रशासनिक प्रभावतर्फ केन्द्रित भएको भन्दै उनले तत्काल सुधार आवश्यक रहेको बताएका हुन्।

एमाले मधेस प्रदेश कमिटीले महोत्तरीको लालगढमा आयोजना गरेको मिसन जागरण अभियानको अभिमुखीकरण कार्यक्रममा बोल्दै पूर्वउपमहासचिव ज्ञवालीले पार्टीको कार्यशैली क्रमशः सरकारी र सत्तामुखी बनेको टिप्पणी गरे। उनका अनुसार प्रमुख जिल्ला अधिकारी, प्रहरी र प्रशासकीय अधिकृतहरूको सरुवाजस्ता विषयमा नेतृत्वको ध्यान बढी केन्द्रित हुँदा पार्टी नेता र जनताबीचको दूरी बढेको छ।

ज्ञवालीले एमाले मूलतः जनपरिचालनमा आधारित पार्टी भए पनि पछिल्ला वर्षमा त्यसको कार्यशैली बदलिएको बताए। सरकारी शक्ति र प्रशासनिक प्रभावलाई प्राथमिकता दिने प्रवृत्तिले पार्टीको परम्परागत जनआधार कमजोर पारेको भन्दै उनले अब जनताका समस्या, मुद्दा र अपेक्षासँग पुनः जोडिनुपर्ने धारणा राखे।

उनले पछिल्लो निर्वाचनमा एमालेले अपेक्षाकृत कमजोर परिणाम व्यहोर्नुमा पार्टीभित्रको आन्तरिक एकताको समस्या पनि महत्वपूर्ण कारण रहेको बताए। पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यतासम्बन्धी विवाद, पार्टीभित्र बनेका समूह तथा उपसमूह र निर्वाचनमा एकताबद्ध भएर जान नसकेको अवस्थाले संगठनलाई कमजोर बनाएको उनको विश्लेषण छ।

ज्ञवालीका अनुसार गत वर्ष भदौ २३ सम्म एमाले ठूलो र बलियो राजनीतिक शक्तिका रूपमा रहे पनि एक वर्षपछि अवस्था फरक देखिएको छ। यसको प्रमुख कारण पार्टी जनताका वास्तविक मुद्दाबाट टाढिएको उनको भनाइ छ। संविधान, राजनीतिक अधिकार वा आफ्ना नेतामाथि सरकारले ज्यादती गरेको भन्ने अवस्था आउँदासमेत जनताको ठूलो हिस्सा स्वतः सडकमा नआउनुले पार्टी र जनताबीचको दूरी देखाएको उनले बताए।

उनले २०७९ को निर्वाचनपछि एमालेप्रति जनतामा सत्ताभोगी पार्टीको छवि बन्न थालेको पनि स्वीकार गरेका छन्। २०७९ देखि २०८२ सम्म पार्टीले चार पटक सत्ता समीकरण परिवर्तन गरेको उल्लेख गर्दै उनले सरकारमा जाने र बाहिरिने निर्णयका कारण जनतालाई स्पष्ट रूपमा बुझाउन नसकिएको बताए।

ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने, केही समयमै सरकारबाट बाहिरिने, पुनः त्यही नेतृत्वको सरकारमा सहभागी हुने र पछि नेपाली कांग्रेससँग सहकार्य गर्ने श्रृंखलाले जनतामा अन्योल र नकारात्मक सन्देश गएको बताए।

बारम्बार सत्ता समीकरण परिवर्तन गर्दा त्यसको राजनीतिक कारण र औचित्य जनतालाई विश्वासिलो ढङ्गले व्याख्या गर्न नसकिएको उनको स्वीकारोक्ति छ। यही कारण पार्टीको वैचारिक छवि र जनविश्वासमा असर परेको उनको निष्कर्ष छ।

ज्ञवालीले अब एमालेले जनताका समस्या पहिचान गर्ने, तिनलाई राजनीतिक रूपमा उठाउने र समाधान प्रस्तुत गर्ने कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। पार्टीलाई पुनः बलियो बनाउन सत्ता र प्रशासनिक प्रभावभन्दा जनसम्पर्क, संगठन, जनपरिचालन र नागरिकका दैनिक समस्यासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्ने उनको धारणा छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button