संघीय संसद्का दुवै सदनको बैठक आज, कानुन आयोग संशोधनसहित विभिन्न प्रस्ताव कार्यसूचीमा

ड्रागन मिडिया सम्वाददाता
संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। दुवै सदनमा विभिन्न विधेयक, समितिका प्रतिवेदन तथा सरकारी प्रस्तावसम्बन्धी विषय कार्यसूचीमा राखिएका छन्।
अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।
बैठकमा मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्। उक्त विधेयकमाथि प्रतिनिधिसभामा प्रारम्भिक छलफल अघि बढाउने उद्देश्यले प्रस्ताव पेस गर्न लागिएको हो।
यसैगरी, मन्त्री गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ समेत सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
अपराह्न १ बजेर १५ मिनेटमा बस्ने राष्ट्रियसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस हुने कार्यसूची छ।
विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले उक्त प्रतिवेदन राष्ट्रियसभासमक्ष प्रस्तुत गर्नेछन्।
राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पनि सदनलाई जानकारी गराउनेछन्।
यसैबीच, संघीय संसदअन्तर्गत अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि आज बस्दैछ। समितिहरूले आआफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।





