२४ भाद्र २०८३, बुधबार

महेश बस्नेतको आरोपप्रति प्रहरीको आपत्ति, राहत सामग्री हिनामिना भएको दाबी तथ्यहीन भएको स्पष्टोक्ति

ड्रागन मिडिया सम्वाददाता

नेकपा (एमाले) का सचिव महेश बस्नेतले बाढीपहिरो प्रभावितका लागि आएको राहत सामग्री सुरक्षाकर्मीले प्रयोग गरेको तथा वितरण नगरी राखेको भन्दै दिएको अभिव्यक्तिप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ। प्रहरीले सामाजिक सञ्जालमार्फत सुरक्षा निकायलाई लक्षित गरी तथ्यहीन, कपोलकल्पित र भ्रामक सूचना फैलाइएको भन्दै त्यसले विपद व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीको मनोबलमा असर पुर्‍याउने जनाएको छ।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खोज, उद्धार तथा राहत वितरणमा परिचालित छन्। यही पृष्ठभूमिमा बस्नेतले एक भिडियो अन्तर्वार्तामा सेना र प्रहरीमाथि राहत सामग्री हिनामिना गरेको आरोप लगाएका थिए।

बस्नेतले आफू पुगेको एउटा आश्रयस्थलमा प्रभावितले पर्याप्त खाना नपाएको तर सुरक्षाकर्मीले राहत सामग्री प्रयोग गरिरहेको दाबी गरेका थिए। उनले राहतस्वरूप आएका तरकारीलगायत सामग्री कुहिएर फालिएको तथा ‘वान डोर सिस्टम’ का नाममा सेना र प्रहरीका ब्यारेक तथा कार्यालयभित्र राहत सामग्री राखिएको आरोपसमेत लगाएका थिए। उनले उद्धारका लागि हेलिकप्टर परिचालनमा समेत अवरोध गरिएको दाबी गरेका थिए।

बस्नेतको अभिव्यक्तिपछि नेपाल प्रहरीले प्रेस विज्ञप्ति जारी गर्दै ती आरोप पूर्णतः भ्रामक र तथ्यहीन भएको जनाएको छ। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले जारी गरेको विज्ञप्तिमा सेना र प्रहरीले राहत सामग्री लिएर वितरण नगरेको तथा सामग्री सडाएर राखेको भन्ने आशयका प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

प्रहरीले आफ्नो नियन्त्रणमा कुनै राहत सामग्री भण्डारण नरहेको पनि स्पष्ट गरेको छ। सुरक्षा निकायका जनशक्ति आफ्नो ज्यानको समेत पर्वाह नगरी विपदमा परेका नागरिकको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार र राहत वितरणमा खटिएको उल्लेख गर्दै यस्ता आरोपले सुरक्षाकर्मीप्रति आम नागरिकको विश्वास कमजोर पार्न सक्ने जनाएको छ।

विपदको संवेदनशील समयमा तथ्य प्रमाणबिना आरोप तथा अफवाह फैलाउँदा उद्धार र राहत व्यवस्थापनसमेत प्रभावित हुन सक्ने प्रहरीको भनाइ छ। प्रहरीले सुरक्षाकर्मीको मनोबलमा प्रतिकूल असर पार्ने तथा नागरिकमा सुरक्षा निकायप्रति अविश्वास सिर्जना गर्ने किसिमका कपोलकल्पित आरोप प्रसार गर्नु दुःखद र गैरजिम्मेवार कार्य भएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button