बाढी प्रभावित रसुवामा ११ वटा जेनेरेटर वितरण

बाढी प्रभावित रसुवामा ११ वटा जेनेरेटर वितरण
ड्रागन मिडिया सम्वाददाता
बाढीबाट प्रभावित रसुवाका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ वटा जेनेरेटर वितरण गरिएको छ। विद्युत् सेवा अवरुद्ध भएका क्षेत्रमा तत्काल आवश्यक ऊर्जा उपलब्ध गराउने उद्देश्यले राहतस्वरूप जेनेरेटरसहित इन्धन तथा मोबिल उपलब्ध गराइएको हो।
सीटप अस्ट्रेलियाको सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले होण्डा ईयु२२आई मोडलका ११ वटा जेनेरेटर, ११ लिटर मोबिल र १३० लिटर पेट्रोल प्रभावित क्षेत्रका लागि हस्तान्तरण गरेको हो।
जेनेरेटरहरू जीवजीवे, बेताङ, सर्सेउ, लोकिल, राम्चे, बेत्रावती, भोर्ले र हाकुलगायत बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको छ। ती क्षेत्रका समुदाय, विद्यालय तथा स्थानीय निकायले आवश्यकताअनुसार जेनेरेटर प्रयोग गर्न सक्नेछन्।
बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा जेनेरेटरको प्रयोगबाट सञ्चार सम्पर्क कायम राख्न, मोबाइल तथा अन्य आवश्यक उपकरण चार्ज गर्न र आपत्कालीन सेवा सञ्चालनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विद्युत् पूर्वाधार पूर्ण रूपमा पुनःस्थापित नभएसम्म यस्ता वैकल्पिक ऊर्जा उपकरणले प्रभावित समुदायको दैनिक जीवन तथा राहत व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुर्याउने विश्वास गरिएको छ।





