भदौ २४ लाई ‘कालो दिन’का रूपमा स्थापित गर्न देव गुरुङको आह्वान

ड्रागन मिडिया सम्वाददाता
नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले गत वर्ष भदौ २४ गते नेपालमा भएको राजनीतिक तथा भौतिक विध्वंसलाई मुलुकको इतिहासको ‘कालो दिन’का रूपमा स्थापित गर्न आह्वान गरेका छन्। उनले उक्त घटनालाई सामान्य राजनीतिक असन्तोष वा स्वतःस्फूर्त विद्रोहका रूपमा मात्र नहेरी राष्ट्रिय स्वाधीनता, भू–राजनीति र बाह्य शक्तिको भूमिकासँग जोडेर विश्लेषण गर्नुपर्ने धारणा राखेका छन्।
गुरुङले सार्वजनिक गरेको वक्तव्यमा पश्चिमा शक्ति केन्द्रहरूले विभिन्न समयमा नेपालसमक्ष स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी), स्टारलिङ्क, ठूला डाटा सेन्टर, इन्डो–प्यासिफिक रणनीतिसँग सम्बन्धित गतिविधि, चीनसँगको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन रोक्ने तथा मुस्ताङमा रहेको भनिएको युरेनियम विदेशी कम्पनीलाई दिने जस्ता प्रस्ताव प्रत्यक्ष वा परोक्ष रूपमा अघि सारेको दाबी गरेका छन्। उनले स्थापित राजनीतिक दलहरूबीच आर्थिक, शैक्षिक, भ्रष्टाचार नियन्त्रण तथा शान्ति प्रक्रियाका विषयमा गम्भीर मतभेद रहे पनि राष्ट्रियता र स्वाधीनतासँग सम्बन्धित त्यस्ता प्रस्ताव स्वीकार नगरेको तर्क गरेका छन्। यी दाबीको स्वतन्त्र पुष्टि भने वक्तव्यमा प्रस्तुत गरिएको छैन।
उनका अनुसार शान्ति प्रक्रियाका प्रमुख राजनीतिक पक्षहरू आपसमा विभाजित भइरहेको परिस्थितिमा सुशासनको नारासहित भदौ २३ देखि शुरु भएको आन्दोलन भदौ २४ मा ठूलो विध्वंसमा परिणत भयो। गुरुङले राज्यका ऐतिहासिक संरचना तथा सम्पदामाथि भएको क्षतिले नेपालको विकास र संस्थागत यात्रालाई गम्भीर रूपमा पछाडि धकेलेको टिप्पणी गरेका छन्।
गुरुङले विश्वका विभिन्न मुलुकमा भएका तथाकथित ‘कलर रिभोल्युसन’सँग नेपालको घटनालाई तुलना गर्दै ‘जेनजी विद्रोह’का नाममा नेपालमा पनि बाह्य शक्तिको प्रभावमा राजनीतिक परिवर्तन गराइएको आरोप लगाएका छन्। उनले विश्वका करिब ४९ मुलुकपछि नेपाललाई यस्तै प्रकृतिको राजनीतिक प्रयोगको अर्को उदाहरण बनाइएको दाबीसमेत गरेका छन्। यस सम्बन्धमा उनले ठोस प्रमाण भने सार्वजनिक गरेका छैनन्।
उनले नेपालको इतिहासको कोतपर्वसँगसमेत भदौ २४ को घटनालाई तुलना गरेका छन्। विसं १९०३ को कोतपर्वपछि जंगबहादुर राणाको उदयलाई तत्कालीन ब्रिटिस साम्राज्यवादसँग जोड्दै गुरुङले भदौ २४ पछिको राजनीतिक व्यवस्थालाई पनि बाह्य शक्ति केन्द्रको प्रभावमा बनेको नयाँ प्रकारको शासनका रूपमा व्याख्या गरेका छन्।
गुरुङले राजनीतिक दलहरूबीचको विभाजनले राष्ट्रिय हित कमजोर बनाएको निष्कर्ष निकाल्दै “भाइ फुटे, गँवार लुटे” भन्ने उखानबाट शिक्षा लिनुपर्ने बताएका छन्। उनले राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको रक्षा र आर्थिक समृद्धिका लागि बृहत् शान्ति सम्झौताका पक्षधर राजनीतिक दलहरूबीच पुनः व्यापक सहकार्य शुरु गर्नुपर्नेमा जोड दिएका छन्।
उनले भदौ २४ लाई नेपालमा भएको विध्वंस, राजनीतिक अस्थिरता र राष्ट्रिय स्वाधीनतामाथिको चुनौती सम्झने दिनका रूपमा ‘कालो दिन’ घोषणा तथा स्थापित गर्न राजनीतिक र सामाजिक शक्तिहरूसँग आग्रह गरेका छन्।





