२४ भाद्र २०८३, बुधबार

चीनबाट चौथो खेपको आपत्कालीन राहत नेपाल आइपुग्यो, उद्धारका विशेष उपकरण हस्तान्तरण

ड्रागन मिडिया सम्वाददाता

चीन सरकारले नेपालका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा जारी खोज, उद्धार र राहत कार्यलाई सहयोग गर्न पठाएको चौथो खेपको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको वाई–२०ए ठूलो सैन्य यातायात विमानमार्फत ल्याइएको राहत सामग्री मंगलबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको उपस्थितिमा विमानस्थलमा आयोजित कार्यक्रममा राहत सामग्री औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।

चौथो खेपमा विशेषगरी बाढी तथा डुबान प्रभावित क्षेत्रमा उद्धारका लागि प्रयोग गर्न सकिने होभरक्राफ्ट, स्टेनलेस स्टिलका स्थायी चुम्बकीय बाढी नियन्त्रण पम्प, अतिरिक्त ब्याट्री, शव सुरक्षित राख्ने फ्रिज र सौर्य ऊर्जाबाट चल्ने बत्तीलगायत सामग्री समावेश छन्।

चिनियाँ पक्षका अनुसार राहत सामग्री नेपालको हालको विपद परिस्थितिमा तत्काल आवश्यक पर्ने उपकरणलाई प्राथमिकतामा राखेर पठाइएको हो। विशेषगरी सडक सम्पर्क विच्छेद भएका, डुबान तथा बाढी प्रभावित र कठिन भूभागमा खोज तथा उद्धार सञ्चालन गर्न केही उपकरण उपयोगी हुने अपेक्षा गरिएको छ।

चीनले भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको विनाशकारी विपदपछि नेपाललाई लगातार आपत्कालीन सहायता उपलब्ध गराउँदै आएको छ। यसअघि तीन खेपमा राहत सामग्री नेपाल पठाइसकेको चीनले चौथो खेपमा उद्धार तथा विपद व्यवस्थापनमा प्रत्यक्ष प्रयोग हुने विशेष उपकरणलाई प्राथमिकता दिएको छ।

चिनियाँ विदेश मन्त्रालयले पनि नेपालको विपद उद्धार तथा राहत कार्यमा सहयोग निरन्तर रहने जनाएको छ। चीनका विभिन्न सरकारी तथा गैरसरकारी निकाय र नेपालमा रहेका चिनियाँ संस्थाहरूले समेत प्रभावित समुदायका लागि राहत, अस्थायी आश्रय, दैनिक उपभोग्य सामग्री तथा अन्य सहयोग उपलब्ध गराउँदै आएका छन्।

चौथो खेपको आगमनसँगै चीनबाट नेपाललाई उपलब्ध गराइएको आपत्कालीन सहयोग उद्धारको प्रारम्भिक चरणबाट विशेष उपकरणसहितको खोज, राहत तथा विपदपछिको व्यवस्थापनतर्फ विस्तार भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button