रुसका जनताको भाषा दिवसमा पुटिनको सन्देश : भाषिक विविधता राष्ट्रिय सम्पत्ति, रुसी भाषा एकताको आधार

ड्रागन मिडिया समाचार कक्ष
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसका जनताको भाषा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै देशको भाषिक, सांस्कृतिक र जातीय विविधतालाई साझा राष्ट्रिय सम्पत्तिका रूपमा संरक्षण गर्नु राज्यको महत्वपूर्ण प्राथमिकता रहेको बताएका छन्।
सेप्टेम्बर ८ मा पहिलोपटक मनाइएको रुसका जनताको भाषा दिवस प्रसिद्ध दागेस्तानी कवि रसुल गाम्जातोभको जन्मदिनसँग जोडिएको छ। पुटिनले यो नयाँ राष्ट्रिय दिवस रुसका जनताको एकता वर्षका क्रममा पहिलोपटक मनाइनु विशेष प्रतीकात्मक महत्वको विषय भएको उल्लेख गरे।
राष्ट्रपति पुटिनका अनुसार रुसमा करिब २०० जाति तथा जातीय समुदायका प्रतिनिधि आपसी मित्रता र सद्भावका साथ बसोबास गर्छन्। उनीहरूको भाषा, पृथक परम्परा, संस्कृति र सामाजिक अभ्यास रुसको साझा विरासत तथा वास्तविक राष्ट्रिय सम्पत्ति भएको उनले बताए।
रुसको जातीय सांस्कृतिक तथा भाषिक विविधता संरक्षण गर्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको पुटिनको भनाइ छ। राष्ट्रिय भाषामा विशेष पाठ्यपुस्तक श्रृंखला विकास, साहित्य प्रकाशनको प्रवर्द्धन, साहित्यिक अनुवादका विद्यालयलाई सहयोग तथा शिक्षा, सूचना, जनचेतना र सिर्जनात्मक परियोजनाहरू कार्यान्वयन भइरहेको उनले उल्लेख गरे।
पुटिनले प्रत्येक समुदायको पृथक भाषा संरक्षण गर्दै जाँदा रुसी भाषाको साझा राष्ट्रिय भूमिकालाई पनि स्मरण गर्नुपर्नेमा विशेष जोड दिए। उनका अनुसार रुसी भाषा देशका सबै जाति र समुदायलाई जोड्ने प्रमुख माध्यम हो र यसले रुसलाई एउटै बहुजातीय राज्यका रूपमा निर्माण गर्न ऐतिहासिक भूमिका खेलेको छ।
उनले शताब्दीयौँदेखि रुसी भाषाले विभिन्न संस्कृतिबीच पारस्परिक समृद्धि, असल छिमेकी सम्बन्ध र आपसी समझदारीको परम्परा विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए।
राष्ट्रपति पुटिनले रुसका जनताको भाषा दिवसका कार्यक्रम उत्सवपूर्ण वातावरणमा सम्पन्न हुने र सहभागी तथा अतिथिका लागि स्मरणीय बन्ने विश्वास व्यक्त गर्दै सबैलाई सफलताको शुभकामना दिएका छन्।





