रसुवाको सान्जेन जलविद्युत आयोजनाद्वारा विद्युत् उत्पादन सुरु

रसुवामा रहेको सान्जेन जलविद्युत् आयोजनाले विद्युत् उत्पादन थालेको छ। ४२.५ मेगावाटको सो आयोजना निर्माण सम्पन्न गरी शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको गोरखापत्र अनलाइनले लेखेको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा २७० मेगावाटका चार वटा जलविद्युत् आयोजना बनिरहेकोमा रसुवामा रहेका तीन जलविद्युत् निर्माण सम्पन्न भएर राष्ट्रिय प्रसारण प्रणालीमा १६८ मेगावाट विद्युत् थप भएको छ। १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले पनि परीक्षण उत्पादन गरिरहेको छ। १४.८ मेगावाटको माथिल्लो सान्जेनले गत वर्ष असोजदेखि व्यावसायिक विद्युत् उत्पादन थालेको थियो। सिन्धुपाल्चोकमा रहेको १०२ मेगावाटको मध्य भोटेकोशी भने निर्माणाधीन अवस्थामै छ।

निर्माण सम्पन्न तीन वटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो। नदी प्रवाहमा आधारित माथिल्लो सान्जेन, सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ।

परीक्षण उत्पादनमा रहेका दुवै आयोजनाबाट मङ्सिरभित्रै व्यावसायिक विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठुलो उपलब्धि भएको बताउनुभयो। “आमसर्वसाधारणको पनि लगानी रहने गरी एकसाथ चार वटै आयोजना निर्माण थालिएको थियो,” उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाबाट नजिकै रहेका आयोजनाले हिउँदयाममा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्ने छ।” भूकम्प, नाकाबन्दी, मुद्राको अबमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा यी आयोजनाको लागतमा केही वृद्धि भएको उहाँको भनाइ छ।

आयोजनाको प्रवर्धक सान्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्पणबहादुर सिंहले दुवै आयोजनाको अनुमानित लागत प्रतिमेगावाट साढे २२ करोड रुपियाँ हुने बताउनुभयो। चिलिमेका चार वटै आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ।

कम्पनीमा चिलिमे जलविद्युत् कम्पनीको ३९.३६ प्रतिशत, प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्था (प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानीय तह­) का कर्मचारी तथा ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारी, आयोजना प्रभावित रसुवावासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण सेयर छ।

माथिल्लो सान्जेन र सान्जेनबाट वार्षिक रूपमा एक अर्ब ८० करोड युनिट विद्युत् उत्पादन हुने छ। माथिल्लो साञ्चेनलाई विद्युत्को बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ। यसका लागि पिकिङ पोखरी निर्माण गरिएको छ।

Cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button