२४ भाद्र २०८३, बुधबार

अमेरिकी सेनाद्वारा पाँच इरानी तेल ट्यांकरमाथि हमला, इरानको जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार

ड्रागन मिडिया समाचार कक्ष

अमेरिकी सेनाले पाँचवटा इरानी कच्चा तेल ट्यांकरमाथि हमला गरी तिनलाई निष्क्रिय वा नष्ट गरेको जनाएको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार पछिल्लो दुई दिनमा अमेरिकी नौसैनिक युद्धपोतलाई लक्षित गरी गरिएको क्षेप्यास्त्र आक्रमणको जवाफमा इरानी तेल ढुवानी संरचनामाथि कारवाही गरिएको हो।

सेन्टकमका अनुसार निशाना बनाइएका पाँचमध्ये चारवटा ट्यांकर इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोरसँग सम्बन्धित थिए र ओमानको खाडी क्षेत्रमा सञ्चालनमा थिए। अर्को ट्यांकर इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीप नजिक निशाना बनाइएको थियो। अमेरिकाले ती जहाजहरूलाई आईआरजीसीसँग सम्बन्धित तेल व्यापार सञ्जालको हिस्सा रहेको दाबी गरेको छ।

अमेरिकी हमलापछि इरानले जोर्डनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गर्दै ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। जोर्डनका अनुसार इरानबाट प्रहार गरिएका २० क्षेप्यास्त्रमध्ये १८ वटा हवाई प्रतिरक्षा प्रणालीले खसालेको थियो। जोर्डनका सशस्त्र बलका प्रवक्ताले बाँकी दुई क्षेप्यास्त्र जनघनत्व भएको क्षेत्रभन्दा टाढा खसेको बताएका छन्। तत्काल मानवीय क्षतिको विवरण सार्वजनिक भएको छैन।

अमेरिका र इरानबीच पछिल्ला दिनमा प्रत्यक्ष सैन्य कारवाही तीव्र बनेको छ। यसअघि पनि अमेरिकी सेनाले इरानी तेल ट्यांकर र आईआरजीसीसँग सम्बन्धित सैन्य संरचनामाथि हमला गरेको थियो भने इरानले अमेरिकी युद्धपोत तथा क्षेत्रीय सैन्य अखडालाई लक्षित गर्दै जवाफी आक्रमण गरेको थियो। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि शुरु गरेको सैन्य कारवाहीपछि विकसित द्वन्द्व छ महिनाभन्दा बढी समयदेखि जारी छ।

यसैबीच आईआरजीसीको नौसेना कमान्डले कुवेत र बहराइनका बन्दरगाह आसपास रहेका अमेरिकासँग सम्बन्धित तेल ट्यांकरलाई थप हमला गर्ने चेतावनी दिएको छ। उसले त्यस्ता जहाजका चालकदललाई जहाज तत्काल छाड्न चेतावनी दिँदै बन्दरगाहमा रोकिएका वा लंगर लगाएर बसेका अमेरिकी सम्बन्धित जहाजसमेत निशानामा पर्न सक्ने जनाएको छ।

अमेरिका र इरानबीच समुद्री क्षेत्रमा बढेको प्रत्यक्ष सैन्य टकरावले विश्व ऊर्जा बजारमा समेत दबाब बढाएको छ। एसियाली बजारको प्रारम्भिक कारोबारमा बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य करिब १.५ प्रतिशत बढेर प्रतिब्यारेल ९९ अमेरिकी डलरभन्दा माथि पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेल पनि ९४ अमेरिकी डलरभन्दा माथि कारोबार भएको छ।

खार्ग द्वीप, ओमानको खाडी र होर्मुज जलडमरूमध्य विश्व तेल आपूर्तिका दृष्टिले अत्यन्त संवेदनशील क्षेत्र हुन्। यस क्षेत्रमा तेल ट्यांकर र सैन्य जहाजमाथि लगातार भइरहेको आक्रमणले समुद्री ढुवानी, ऊर्जा आपूर्ति र खाडी क्षेत्रको सुरक्षा अवस्थाबारे अन्तर्राष्ट्रिय चिन्ता थप बढाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button