सरकारले केही गरेन भन्ने अवस्था छैन : रवि लामिछाने
ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपदका बेला सरकारले केही गरेन भन्ने अवस्था नरहेको बताएका छन्।
प्रतिनिधि सभा बैठकमा आज सम्बोधन गर्दै सभापति लामिछानेले राज्यका संयन्त्र भग्नावशेष र सुरुङभित्र फसेका तथा बेपत्ता नागरिकको खोजी र उद्धारमा सक्रिय रहेको बताए।
“राज्यले केही गरेन, राज्य कहाँ छ भन्ने गरेको मैले सुनेको छु। राज्यले गरेन भन्ने कुराको सबैभन्दा शक्तिशाली खण्डन भनेको राज्य कहाँ छ भनेर दृश्यसहित प्रष्ट्याउनु हो,” उनले भने।
लामिछानेले सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखेको उल्लेख गर्दै विपदको संवेदनशील घडीमा समेत आरोप प्रत्यारोप भइरहेकोप्रति असन्तुष्टि व्यक्त गरे।
उनले उद्धार, राहत र पीडितको पुनर्स्थापनालाई अहिलेको मुख्य प्राथमिकता बनाउनुपर्नेमा जोड दिए। विपदलाई राजनीतिक लाभहानिको विषय बनाउन नहुने उल्लेख गर्दै उनले भने, “यो राजनीतिको रोटी सेक्ने बेला होइन।”
सभापति लामिछानेले विपदको सामना सरकार, राजनीतिक दल र समाज सबैको साझा जिम्मेवारी भएको संकेत गर्दै संकटका बेला आरोपभन्दा सहकार्य र नागरिकको जीवनरक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राखे।





