गृहमन्त्री गुरुङ र सांसद धितालबीच ह्वाट्सएप समूहमा चर्काचर्की, पछि विवाद मिलेको दाबी

ड्रागन मिडिया सम्वाददाता
गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालबीच ह्वाट्सएप समूहमा चर्को आरोपप्रत्यारोप भएको विवरण सार्वजनिक भएको छ।
नयाँ बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा आयोजित जेनजी सहिद स्मृति कार्यक्रममा विवादित धार्मिक व्यक्तिहरूलाई अतिथिका रूपमा सहभागी गराइएको विषयमा धितालले असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा टिप्पणी गरेपछि विवाद शुरु भएको जनआस्थाले जनाएको छ।
धितालले कार्यक्रममा देखिएको मञ्च व्यवस्थापन र अतिथि चयनले जेनजी सहिद तथा घाइतेहरूको भावना सम्बोधन गर्न नसकेको टिप्पणी गरेकी थिइन्। उनले आफ्ना सन्तान गुमाएका परिवार तथा आन्दोलनका घाउ बोकेर बाँचेका व्यक्तिले उक्त कार्यक्रमबाट के सन्देश पाए भन्ने प्रश्न उठाएकी थिइन्।
उक्त टिप्पणीपछि गृहमन्त्री गुरुङले पार्टीसँग सम्बन्धित ह्वाट्सएप समूहमा धिताललाई कडा शब्दमा जवाफ दिएको सोही समूहमा रहेकी एक सांसदलाई उद्धृत गर्दै जनआस्थाले जनाएको छ।
समाचारमा उल्लेख भएअनुसार गुरुङले धिताललाई आन्दोलनको मर्म नबुझी सार्वजनिक टिप्पणी गरेर आफ्नै सहकर्मीलाई कमजोर देखाउन खोजेको आरोप लगाएका थिए। उनले धितालसँग रुखो शैलीमा संवाद गरेकोसमेत स्रोतको दाबी छ।
जवाफमा धितालले विवादित व्यक्तिलाई सहिद स्मृति कार्यक्रममा सहभागी गराएर जेनजी आन्दोलनको माग पूरा नहुने धारणा राख्दै आन्दोलनलाई कुनै एक व्यक्तिको स्वामित्वका रूपमा नबुझ्न आग्रह गरेको बताइएको छ।
दुवैबीच आरोपप्रत्यारोप बढेपछि समूहमा रहेका अन्य सांसदले विवाद नबढाउन आग्रह गर्दै सहजीकरण गरेका थिए। त्यसक्रममा धितालले गृहमन्त्रीको संवाद शैलीमाथि प्रश्न उठाएपछि गुरुङले झन कडा प्रतिक्रिया दिएको दाबी समाचारमा गरिएको छ।
यद्यपि, विवादपछि दुवै पक्षबीच व्यक्तिगत रूपमा संवाद गरेर विषय समाधान गर्ने प्रयास भएको बताइएको छ। सोही समूहमा रहेकी एक सांसदका अनुसार उनले धितालसँग कुरा गर्दा बिहान फोनमा भएको संवादपछि विवाद मिलिसकेको जानकारी पाएकी थिइन्।
ह्वाट्सएप समूहमा भएको भनिएको संवादको स्वतन्त्र पुष्टि भने सार्वजनिक रूपमा भएको छैन। विवादको मूल कारण जेनजी सहिद स्मृति कार्यक्रमको स्वरूप, अतिथि चयन र त्यसप्रति सत्तारुढ दलभित्रै देखिएको असन्तुष्टिसँग जोडिएको छ।





