दक्षिण चीन सागरमा उत्तेजना नबढाउन फिलिपिन्सलाई चीनको चेतावनी

ड्रागन मिडिया समाचार कक्ष
चीनले फिलिपिन्सका केही व्यक्तिहरूलाई दक्षिण चीन सागरसम्बन्धी उत्तेजक अभिव्यक्ति र गतिविधि बन्द गर्न तथा चीन–फिलिपिन्स सम्बन्ध र क्षेत्रीय स्थिरतामा असर पार्ने कार्य नगर्न आग्रह गरेको छ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बुधबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा फिलिपिन्सका रक्षामन्त्री गिल्बर्टो टेओडोरो जुनियरले दक्षिण चीन सागरबारे हालै दिएको अभिव्यक्तिसम्बन्धी प्रश्नको जवाफ दिँदै यस्तो प्रतिक्रिया जनाएकी हुन्।
माओले तथाकथित “दक्षिण चीन सागर मध्यस्थता” सम्बन्धमा चीनको धारणा स्पष्ट र निरन्तर रहेको बताइन्।
उनका अनुसार उक्त मुद्दा फिलिपिन्सले एकपक्षीय रूपमा अघि बढाएको थियो र त्यस प्रक्रियाले संयुक्त राष्ट्रसंघीय समुद्री कानुनसम्बन्धी महासन्धि अर्थात यूएनक्लोसअन्तर्गतको विवाद समाधान संयन्त्रलाई विकृत र दुरुपयोग गरेको चीनको धारणा छ।
“फिलिपिन्सले एकपक्षीय रूपमा मुद्दा शुरु गरेको हो, जुन यूएनक्लोसको विवाद समाधान संयन्त्रको विकृति र दुरुपयोग हो,” माओले भनिन्।
उनले यूएनक्लोसको उल्लंघन गर्ने र त्यसको अखण्डता तथा अधिकारलाई कमजोर बनाउने काम चीनले नभई फिलिपिन्स पक्षले गरेको दाबीसमेत गरिन्।
चीनले दक्षिण चीन सागरसम्बन्धी विवादहरू प्रत्यक्ष सम्बन्धित पक्षबीच संवाद र वार्तामार्फत समाधान हुनुपर्ने धारणा राख्दै आएको छ। पछिल्लो चिनियाँ प्रतिक्रिया भने फिलिपिन्सका रक्षामन्त्रीको अभिव्यक्तिपछि दुई देशबीच दक्षिण चीन सागरको प्रश्नमा पुनः बढेको कूटनीतिक तनावको संकेतका रूपमा आएको छ।





