अपर म्याग्दी–१ जलविद्युत आयोजनाको दुई हजार ५०६ मिटर सुरुङ छेडियो

ड्रागन मिडिया सम्वाददाता
५३ दशमलव ५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको अडिटदेखि बाँधतर्फ जोडिने दुई हजार ५०६ दशमलव ३९ मिटर सुरुङ छेडिएको छ। म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको धवलागिरि गाउँपालिका–४ छहरीस्थित अडिटदेखि मालिका गाउँपालिका–७ भारवाङमा निर्माणाधीन विद्युतगृहतर्फ जोड्ने सुरुङ बुधबार छेडिएको हो।
आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार छहरीको अडिटदेखि धवलागिरि गाउँपालिका–४ खाम्लास्थित बाँधतर्फ निर्माण भइरहेको तीन हजार २८३ दशमलव ३२ मिटर सुरुङमध्ये हालसम्म एक हजार ९७३ मिटर निर्माण सम्पन्न भएको छ। बाँकी सुरुङ पनि केही महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको उनले जानकारी दिए।
आयोजनाको समग्र भौतिक प्रगति हालसम्म ५६ प्रतिशत पुगेको छ। आयोजना प्रमुख केसीका अनुसार बाँकी काम तीव्र गतिमा अघि बढाएर आगामी एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सिभिल निर्माणका लागि २०८० चैत १९ गते सम्झौता भएको थियो भने ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्रयाक्टर २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको थियो। मुख्य सुरुङ निर्माण २०८१ भदौदेखि शुरु गरिएको थियो।
आयोजनामा बाँध, सुरुङ र विद्युत्गृह निर्माणसँगै हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिकल कामलाई पनि तीव्र पारिएको छ। यद्यपि बर्खायाममा बेनी–दरबाङ सडकअन्तर्गत फापरखेत क्षेत्रमा आउने पहिरो, दुखुखोला सडक पुलमा देखिने जोखिम र शिवरात्रिखोला सडक पुल निर्माणमा भएको ढिलाइले अपर म्याग्दी–१ सहित आसपासका जलविद्युत आयोजनाको निर्माण कार्यमा असर पुर्याएको छ।
आयोजना सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवर्द्धक कम्पनीको लगानी र सर्वसाधारणको शेयरमार्फत जुटाइने कुल ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपैयाँको लागतमा निर्माण भइरहेको छ। आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ।
भारवाङदेखि करिब एक दशमलव पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी आयोजना नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको १३२ केभी सवस्टेशनमा जोडिनेछ। आयोजना सञ्चालनमा आएपछि वार्षिक औसत ३१५ दशमलव ०१ गिगावाट घण्टा विद्युत केन्द्रीय प्रसारण प्रणालीमा आपूर्ति हुने अनुमान गरिएको छ।
नदी प्रवाहमा आधारित प्रकृतिको यस आयोजनाको आउटलेटदेखि विद्युतगृहसम्मको उचाइ १९६ मिटर छ। आउटलेटबाट विद्युत्गृहसम्म पानी खसाल्न ६९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ। ऊर्जा इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सोलुसन प्राली आयोजनाको परामर्शदाता हो भने मेकानिकल तथा इलेक्ट्रो मेकानिकल ठेकेदार छनोट प्रक्रिया अघि बढाइएको छ। अपर म्याग्दी–१ को प्रवर्द्धक कम्पनी ऊर्जा डेभलपर्स प्रालीसँग आबद्ध छ।





