संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, आर्थिक विधेयकदेखि विशेष सेवा ऐनसम्म कार्यसूचीमा

ड्रागन मिडिया सम्वाददाता
संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। उनले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। सभामुखले राष्ट्रियसभाका पूर्व सदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन’ पेस गर्नेछन्।
प्रधानमन्त्री शाहले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
संघीय संसद सचिवालयका अनुसार उक्त प्रस्तावमाथि राष्ट्रियसभामा छलफल गरी विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ।





