कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्षसहित चार पदाधिकारी नियुक्त

ड्रागन मिडिया सम्वाददाता
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शिक्षाध्यक्षसहित चार पदाधिकारी नियुक्त भएका छन्। प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा डा धर्मदत्त सुवेदी, रजिष्ट्रारमा उपप्राध्यापक प्रकाशचन्द्र खत्री, डिनमा सहप्रा डा सन्दीप श्रेष्ठ र निर्देशकमा सहप्रा डा विनम्र विष्ट नियुक्त भएका हुन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिष्ठानका उपकुलपति प्रा डा सूर्यमान मेन्याङ्वोको संयोजकत्वमा गठित तीन सदस्यीय सिफारिस समितिको सिफारिसका आधारमा बुधबार उनीहरूलाई नियुक्त गरेकी हुन्।
उपकुलपति प्रा डा मेन्याङ्वोले योग्यता प्रणालीका आधारमा शिक्षाध्यक्ष, रजिष्ट्रार, डिन र निर्देशक नियुक्त गरिएको जानकारी दिए। चार पदाधिकारीको नियुक्तिसँगै प्रतिष्ठानको नेतृत्व संरचनाले पूर्णता पाएको छ।
उनका अनुसार शिक्षाध्यक्षका लागि पाँच, रजिष्ट्रारका लागि १५ र डिनका लागि आठ जनाले आवेदन दिएका थिए। निर्देशक पदका लागि भने एक जनाको मात्र आवेदन परेको थियो।





