२५ भाद्र २०८३, बिहीबार

भोटेकोशी बाढीमा १५७ जना अझै सम्पर्कविहीन, नौ जना भेटिए

ड्रागन मिडिया सम्वाददाता

रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीमा परी सम्पर्कविहीन भएका १५७ जनाको खोजी कार्य अझै जारी छ। यसअघि सम्पर्कविहीन सूचीमा रहेका नौ जना भने फेला परेका छन्। भेटिएकामध्ये तीन पुरुष, दुई महिला र चार बालबालिका रहेका छन्।

प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेका अनुसार हाल एक सय १५ पुरुष, ३९ महिला र तीन बालकको खोजी भइरहेको छ। सुरक्षा निकाय तथा सम्बन्धित निकायले सम्पर्कविहीन व्यक्तिको अवस्था पत्ता लगाउने कार्य निरन्तर जारी राखेका छन्।

सम्पर्कविहीनमध्ये अन्य जिल्लामा स्थायी ठेगाना भई ललितपुरमा बसोबास गर्दै आएका ९९ जना छन्। उनीहरूमा ८१ पुरुष, १७ महिला र एक बालक रहेका छन्। बाढीपछि ललितपुरमा बसोबास गर्दै आएका ४१ विदेशी नागरिकसमेत सम्पर्कविहीन छन्।

सम्पर्कविहीन विदेशी नागरिकमध्ये २० महिला, १९ पुरुष र दुई बालक छन्। राष्ट्रियताका आधारमा युक्रेनका १३, अस्ट्रेलियाका १०, अमेरिका र भारतका पाँच पाँच, चीनका चार, कोरियाका तीन र बेलायतका एक जना रहेका छन्।

बाढीमा परी घाइते भएका २४ जनामध्ये २० पुरुष, तीन महिला र एक बालिका छन्। उनीहरूमध्ये २२ जना उपचारपछि घर फर्किएका छन्। एक पुरुषको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ भने एक बालिकाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

बाढीमा परी ज्यान गुमाएका पाटन सुन्धाराका दुई जनाको शव परिवारको जिम्मा लगाइएको छ। मृतकमध्ये एक महिला र एक पुरुष रहेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button