२५ भाद्र २०८३, बिहीबार

प्रतिसेकेन्ड ५० मिटरको गतिमा आएको बाढी सात मिनेटमै रसुवागढी, १९२ किलोमिटर पार गर्न ६ घण्टा १० मिनेट

ड्रागन मिडिया सम्वाददाता

ल्हेन्दे खोलाबाट शुरु भएको विनाशकारी बाढीले करिब २० किलोमिटर दूरी सात मिनेटमै पार गरेर नेपाल चीन सीमाक्षेत्रको रसुवागढी पुगेको अध्ययनले देखाएको छ। उक्त विवरणअनुसार बाढीको प्रारम्भिक गति प्रतिसेकेन्ड करिब ५० मिटर रहेको थियो।

बाढी टिमुरे, स्याफ्रुवेँसी, मैलुङ र शान्तिनगर हुँदै ल्हेन्दे खोलाबाट करिब ५८ किलोमिटर टाढा रहेको बेत्रावती पुग्न लगभग आधा घण्टा लागेको देखिएको छ। त्यसपछि त्रिशूली, गल्छी, मलेखु, बेनीघाट र मुग्लिन हुँदै नारायणसम्म करिब १९२ किलोमिटर दूरी पार गर्दा बाढीलाई ६ घण्टा १० मिनेट लागेको विवरण छ।

अत्यन्त तीव्र गतिमा अघि बढेको बाढीले दुई सय किलोमिटरभन्दा कम दूरीमै ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीको गति, बहाव र त्यसले छोटो समयमा ठूलो भूभागमा पुर्‍याएको प्रभावले हिमाली तथा पहाडी नदी प्रणालीमा आकस्मिक बाढीको जोखिम र पूर्वसूचना प्रणालीको प्रभावकारिताबारे गम्भीर प्रश्न उठाएको छ।

भूगोलका प्राध्यापक डा नरेन्द्रराज खनालले ल्हेन्दे खोलाबाट शुरु भएको बाढीको गति, क्षति र जोखिमलाई आधार बनाएर विस्तृत अध्ययनात्मक व्याख्या तयार गरेका छन्। त्रिभुवन विश्वविद्यालयको भूगोल केन्द्रीय विभागका पूर्व प्रमुखसमेत रहेका खनालले हिमताल, हिमाली जोखिम र बाढीसम्बन्धी विषयमा लामो समयदेखि अनुसन्धान गर्दै आएका छन्।

खनालको अध्ययनले बाढी कसरी शुरु भयो, कुन मार्ग हुँदै कति समयमा कहाँ पुग्यो, यसले विभिन्न क्षेत्रमा कस्तो क्षति पुर्‍यायो र यसअघि उक्त जलाधार क्षेत्रमा आएका बाढीको प्रकृति कस्तो थियो भन्ने विषय समेटेको छ। अध्ययनमा भविष्यमा यस्ता तीव्र प्रकृतिका बाढीबाट जनधनको क्षति कम गर्न अपनाउनुपर्ने पूर्वतयारी र जोखिम न्यूनीकरणका उपायमाथि समेत ध्यानाकर्षण गराइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button