आज दिउँसो ३ बजे मन्त्रीपरिषद बैठक, भोटेकोशी विपद व्यवस्थापन मुख्य एजेन्डा

ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रीपरिषद बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका अनुसार बैठकमा समसामयिक विषयसँगै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको खोज, उद्धार, राहत र पुनःस्थापनाको अवस्थाबारे छलफल हुनेछ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि सरकारका विभिन्न संयन्त्र खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र प्रभावित नागरिकको पुनःस्थापनामा परिचालित छन्। विपद प्रभावित क्षेत्रमा अझै जारी कामको समीक्षा गर्दै आवश्यक थप निर्णय गर्ने तयारी सरकारले गरेको छ।
बैठकमा प्रभावित क्षेत्रको तत्काल आवश्यकता, राहत तथा पुनःस्थापनाको गति, अवरुद्ध पूर्वाधार पुनःसञ्चालन र सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा निर्णय हुन सक्ने जनाइएको छ।
प्रधानमन्त्री शाहले विपदपछिको उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउँदै पुनःस्थापनाको चरणलाई तीव्रता दिन बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ।





