२५ भाद्र २०८३, बिहीबार

सीमापार दूरसञ्चार तथा साइबर ठगीविरुद्ध अन्तर्राष्ट्रिय गठबन्धन स्थापना

ड्रागन मिडिया समाचार कक्ष

सीमापार दूरसञ्चार तथा साइबर ठगी नियन्त्रणका लागि नयाँ अन्तर्राष्ट्रिय गठबन्धन बिहीबार चीनमा औपचारिक रूपमा स्थापना गरिएको छ। पूर्वी चीनको च्याङसु प्रान्तस्थित लियानयुनकाङमा आयोजित उद्घाटन सम्मेलनमा ४६ संस्थापक मुलुक, ३४ पर्यवेक्षक मुलुक तथा संयुक्त राष्ट्रसंघ र इन्टरपोलसहित चार अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि सहभागी भएका थिए।

चिनियाँ सरकारको पहलमा स्थापना गरिएको ‘इन्टरनेसनल एलायन्स कम्ब्याटिङ टेलिकम एन्ड साइबर फ्रड’ अन्तरसरकारी संगठनका रूपमा सञ्चालन हुनेछ। यसको मुख्य उद्देश्य सीमापार दूरसञ्चार तथा साइबर ठगी र त्यससँग सम्बन्धित अपराधविरुद्ध विभिन्न देशका कानून कार्यान्वयन निकायबीच समन्वय, सूचना आदानप्रदान र संयुक्त कारवाहीलाई प्रभावकारी बनाउनु हो।

सम्मेलनमा चीनसहित भियतनाम, लाओस, केन्या, कम्बोडिया, पाकिस्तान र रुसलगायत संस्थापक सदस्यका प्रतिनिधिले सम्बोधन गरेका थिए। इन्टरपोलका प्रतिनिधिले गठबन्धन स्थापनाको स्वागत गर्दै बधाई सन्देश दिएका थिए।

सहभागीहरूले दूरसञ्चार र साइबर ठगी विश्वव्यापी सुरक्षाका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै चीनले प्रस्ताव गरेको अन्तर्राष्ट्रिय गठबन्धनलाई विश्व सार्वजनिक सुरक्षा संरक्षणका दृष्टिले महत्वपूर्ण पहलका रूपमा स्वीकार गरेका छन्। सम्मेलनले गठबन्धन स्थापना सम्बन्धी संयुक्त वक्तव्य पनि जारी गरेको छ।

संयुक्त वक्तव्यमा अन्तर्राष्ट्रिय महासन्धि र कानूनको आधारमा अधिक केन्द्रित, पेशेवर, प्रभावकारी र कारवाहीमुखी अन्तरसरकारी संयन्त्र आवश्यक रहेको उल्लेख गरिएको छ। यस्तो संगठनले सीमापार साइबर तथा दूरसञ्चार ठगी नियन्त्रणमा देशहरूबीच समन्वय बढाउनुका साथै व्यक्ति, कानुनी संस्था र अन्य संगठनका वैध अधिकार तथा सुरक्षाको संरक्षणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

विश्वभर साइबर प्रविधिको प्रयोग गरेर गरिने ठगी तीव्र रूपमा बढिरहेको पृष्ठभूमिमा गठबन्धन स्थापना गरिएको हो। संयुक्त राष्ट्रसंघीय लागूऔषध तथा अपराधसम्बन्धी कार्यालयको एक प्रतिवेदनअनुसार सन् २०२३ मा दक्षिणपूर्वी एसियामा मात्र साइबर आधारित ठगीबाट १८ अर्बदेखि ३७ अर्ब अमेरिकी डलरसम्म क्षति भएको अनुमान गरिएको थियो। यस्ता धेरै गतिविधि विभिन्न देशमा फैलिएका संगठित आपराधिक समूहसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ।

चीनले पछिल्ला वर्षमा स्पेन, संयुक्त अरब इमिरेट्स र म्यानमारसहित ३० भन्दा बढी देशसँग सीमापार दूरसञ्चार तथा साइबर ठगी नियन्त्रणका लागि कानून कार्यान्वयन सहयोग विस्तार गरेको छ। सन् २०२३ यता चीन र म्यानमारबीच भएका संयुक्त कारवाहीबाट म्यानमारको कोकाङ क्षेत्रमा सक्रिय चार ठूला आपराधिक समूह ध्वस्त पारिएको जनाइएको छ।

यसै वर्ष चीन, अमेरिका र संयुक्त अरब इमिरेट्सका प्रहरी निकायले पहिलो संयुक्त कानून कार्यान्वयन कारवाही सञ्चालन गरी २७६ शंकास्पद व्यक्तिलाई पक्राउ गरेका थिए। कम्बोडिया, लाओस, थाइल्यान्ड, भियतनाम, मलेसिया, इन्डोनेसिया र श्रीलंकासहित अन्य देशसँगको सहकार्यमा यस वर्ष २० हजारभन्दा बढी दूरसञ्चार तथा अनलाइन ठगीका शंकास्पद व्यक्तिलाई पक्राउ गरी सम्बन्धित देशमा फिर्ता पठाइएको छ।

यो गठबन्धन चीनले अघि सारेको विश्व सुरक्षा पहल र विश्व शासन पहललाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्ने प्रयाससँग पनि जोडिएको छ। चीनले सन् २०२२ मा विश्व सुरक्षा पहल र सन् २०२५ मा विश्व शासन पहल प्रस्तुत गरेको थियो। दुवै पहलले साझा सुरक्षा चुनौती समाधान गर्न अन्तर्राष्ट्रिय सहकार्य र विश्व शासन प्रणाली सुधारमा जोड दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button