प्रधानमन्त्रीमाथि सल्लाहकार र सचिवालय हावी भएको अमरेश सिंहको आरोप

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा अमरेश कुमार सिंहले वर्तमान सरकार प्रधानमन्त्रीको कार्यकारी अधिकारभन्दा सल्लाहकार र सचिवालयको प्रभावमा सञ्चालन भइरहेको आरोप लगाएका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्री कार्यकारी नेतृत्वमा रहने भए पनि व्यवहारमा ‘सल्लाहकारको शासन’ जस्तो अवस्था देखिएको दाबी गरे। उनले सरकार संविधानको मर्मअनुसार सञ्चालन नभएको आरोपसमेत लगाए।
प्रधानमन्त्रीको सचिवालयबाट कर्मचारी प्रशासन तथा सुरक्षा निकायका प्रमुखमाथि पटकपटक दबाब दिने गरिएको सिंहको दाबी थियो। सम्पत्ति शुद्धीकरणसम्बन्धी निकायका महानिर्देशकलाई राति बोलाएर रेड नोटिस जारी गर्न दबाब दिइएको र प्रहरी नेतृत्वलाई समेत अपमानित गरिएको आरोप उनले लगाए।
सिंहले सरकारको वास्तविक केन्द्र सिंहदरबारबाट बाहिर सरेर ‘ज्वागल’ पुगेको टिप्पणी गरे। उनले सल्लाहकारको भूमिका प्रधानमन्त्रीलाई आवश्यक सुझाव दिनेसम्म सीमित हुनुपर्ने बताए।
“सल्लाहकारमा योग्यता छ भने प्रधानमन्त्रीको कानमा सल्लाह दिऊन्, लेखेर दिऊन्। सरकारको केन्द्र सिंहदरबार हो भन्ने मैले बुझेको थिएँ, तर अहिले सरकारको केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन चलिरहेको छ,” सिंहले भने।
उनले एउटा सल्लाहकारकै प्रभावले सरकारलाई कमजोर बनाउन पर्याप्त हुने टिप्पणी गर्दै सचिवालयका अन्य पक्षबारे थप टिप्पणी आवश्यक नरहेको बताए।





