२५ भाद्र २०८३, बिहीबार

पाँच महिनामै विवादका कारण दुई मन्त्री पदबाट बाहिरिए

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको पाँच महिनामै विवादका कारण दुई मन्त्री पदबाट बाहिरिएका छन्। पछिल्लो पटक बिहीबार मन्त्री गौरी कुमारी यादवले राजीनामा दिएकी छन्।

यादवले बुधबार प्रतिनिधिसभाको उद्योग समितिमा ग्यास उद्योगीलाई “पाता कस्नुपर्ने” अभिव्यक्ति दिएपछि तीव्र आलोचना भएको थियो। नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न क्षेत्रबाट उनको अभिव्यक्तिप्रति आपत्ति जनाइएको थियो। त्यसको भोलिपल्ट उनले पदबाट राजीनामा दिएकी हुन्। यद्यपि राजीनामाको औपचारिक कारण स्पष्ट भइसकेको छैन।

पछिल्लो दुई महिनादेखि बजारमा देखिएको ग्यास अभाव समाधान गर्न नसकेको भन्दै यादवमाथि आलोचना बढिरहेको थियो। उद्योग समितिको छलफलमा उनले कर्मचारी र ग्यास उद्योगीबाट अपेक्षित सहयोग नपाएको गुनासो गरेकी थिइन्। सोही क्रममा उद्योगीलाई कडा कारवाही गर्नुपर्ने आशयको अभिव्यक्ति दिएपछि विवाद थप चर्किएको थियो।

यसअघि सरकार गठन भएको केही समयमै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह पदमुक्त भएका थिए। मन्त्रीको जिम्मेवारीमा रहँदा पदीय मर्यादाको दुरुपयोग गरी आफ्नी श्रीमतीलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्यका रूपमा नियमित काममा संलग्न गराएको आरोपपछि प्रधानमन्त्री शाहले उनलाई बर्खास्त गरेका थिए।

संयोगवश विवादपछि पद गुमाउने दुवै मन्त्री महोत्तरीबाट निर्वाचित हुन्। यादव महोत्तरी–४ र साह महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

गत चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएका शाह नेतृत्वको सरकारका अन्य मन्त्रीसमेत विभिन्न अभिव्यक्तिका कारण विवादमा परेका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले समयमै काम नसक्ने ठेकेदारको “खुट्टा भाँचिदिन” निर्देशन दिएको अभिव्यक्ति दिएपछि व्यापक आलोचना भएको थियो।

लम्सालले पछि संसदमा आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएका थिए। तर उनले राजीनामा दिएका छैनन् र प्रधानमन्त्रीबाट पनि उनीमाथि पदमुक्त गर्ने कारवाही भएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button