हुम्लाको छुङ्गार लेकबाट पनि कैलाश दर्शन सम्भव

ड्रागन मिडिया सम्वाददाता
हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिका–६ स्थित छुङ्गार लेकबाट कैलाश पर्वतको दूरबाट दर्शन गर्न सकिने पुष्टि भएको छ। स्थानीयको पहलमा आन्तरिक पर्यटकसहित सात जनाको टोली सो क्षेत्रमा पुगेर कैलाश दर्शन गरेपछि छुङ्गारलाई नयाँ सम्भावित धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा हेरिन थालेको छ।
नाम्खा गाउँपालिका–१ का नाम्ग्याल तामाङका अनुसार उनीसहित सात नेपालीको टोली छुङ्गार लेक पुगेको थियो। यसअघि नाम्खा क्षेत्रका सीमित स्थानीयलाई उक्त स्थानबाट कैलाश देख्न सकिने जानकारी भए पनि व्यापक प्रचार भएको थिएन। पछिल्लो यात्रापछि यसको सम्भावना सार्वजनिक रूपमा चर्चामा आएको हो।
समुन्द्र सतहबाट करिब ५,२०० मिटर उचाइमा रहेको छुङ्गार पुग्न लिमी प्रवेशद्वार मानिने न्यालु लेकबाट करिब साढे दुई घण्टा उकालो पैदल यात्रा गर्नुपर्छ। न्यालुसम्म भने सवारीसाधनबाट पुग्न सकिन्छ। पहिलो पटक जाने यात्रुले बाटोबारे जानकारी भएका स्थानीयको सहयोग लिनुपर्ने अवस्था छ।
छुङ्गारबाट कैलाश पर्वत स्पष्ट देखिए पनि मानसरोवर ताल भने देखिँदैन। कैलाश दर्शनका लागि मौसम सफा हुनु अनिवार्य रहेको यात्रुहरूको अनुभव छ।
छुङ्गार क्षेत्रमा अहिले आधारभूत पूर्वाधारको अभाव छ। पैदलमार्ग व्यवस्थित छैन, खानेपानीको सुविधा छैन र उच्च पाटन क्षेत्र भएकाले बसोबासका लागि स्थायी संरचना पनि उपलब्ध छैन। यात्रुहरूले आवश्यक पानी, खाना, न्यानो कपडा र अन्य सामग्री आफैँ लिएर जानुपर्ने हुन्छ।
स्थानीयका अनुसार सुरक्षित पैदलमार्ग, संकेतचिन्ह, विश्रामस्थल, खानेपानी र न्यूनतम पर्यटक पूर्वाधार विकास गर्न सके छुङ्गारलाई महत्वपूर्ण धार्मिक तथा साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिन्छ। सिमकोटबाट एकै दिनमा छुङ्गार पुगेर कैलाश दर्शन गर्न सकिने भएकाले समय र खर्चका हिसाबले पनि यो मार्ग आकर्षक हुनसक्ने देखिएको छ।
छुङ्गार थपिएसँगै हुम्लाबाट कैलाश पर्वतको दूरदर्शन गर्न सकिने प्रमुख स्थानको संख्या तीन पुगेको छ। यसअघि लाप्चा र पुल्की लेकबाट पनि कैलाश दर्शन गर्न सकिने जानकारी स्थानीय स्तरमा स्थापित छ।





