नुवाकोटको विपद प्रभावित क्षेत्र पुगे चिनियाँ राजदूत चाङ माओमिङ, पुनर्निर्माणमा नेपालसँगै रहने प्रतिबद्धता

ड्रागन मिडिया सम्वाददाता
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले बिहीबार नुवाकोटको विपद प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। उनले प्रभावित समुदाय, स्थानीय अधिकारी, स्वयंसेवक तथा राहत र उद्धारमा खटिएका नेपाली सेनाका प्रतिनिधिसँग भेट गरी पछिल्लो अवस्था र भइरहेको खोज, उद्धार तथा राहत कार्यबारे जानकारी लिएका हुन्।
राजदूत चाङले प्रभावित नागरिकका लागि सञ्चालन गरिएका अस्थायी पुनर्वास केन्द्रको पनि निरीक्षण गरे। उनले विस्थापित परिवारको अवस्था, उपलब्ध आधारभूत सेवा तथा राहत व्यवस्थापनबारे जानकारी लिँदै विपदपछि नागरिकको जीवन सामान्य अवस्थामा फर्काउने प्रयासप्रति चासो व्यक्त गरे।
नुवाकोटमा खोज तथा उद्धारमा सहयोग गरिरहेका चिनियाँ सुरुङ उद्धार विशेषज्ञसँग पनि राजदूत चाङले भेट गरेका छन्। उनले कठिन परिस्थितिमा प्राविधिक उद्धार कार्यमा खटिएका चिनियाँ विशेषज्ञप्रति सम्मान व्यक्त गर्दै उनीहरूको प्रयासको प्रशंसा गरे।
राजदूत चाङले नेपाली सेना, स्थानीय प्रशासन, स्वयंसेवक तथा विभिन्न क्षेत्रबाट परिचालित जनशक्तिले सञ्चालन गरिरहेको खोज, उद्धार र राहत कार्यको उच्च प्रशंसा गरेका छन्। विपदको कठिन घडीमा विभिन्न निकायबीच देखिएको समन्वय र मानवीय प्रयास महत्वपूर्ण रहेको उनको भनाइ थियो।
उनले चीन सधैं नेपालसँग दृढतापूर्वक उभिने उल्लेख गर्दै विपदपछिको पुनर्स्थापना र पुनर्निर्माणमा पनि नेपालसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। प्रभावित समुदायको पुनर्वास र क्षतिग्रस्त क्षेत्रको पुनर्निर्माणमा चीनले मित्रवत सहयोग जारी राख्ने सन्देशसमेत उनले दिएका छन्।
नुवाकोट भ्रमणका क्रममा राजदूत चाङले राहत केन्द्र, प्रभावित नागरिकको बसोबास क्षेत्र तथा उद्धार कार्यसँग सम्बन्धित विभिन्न स्थानको अवलोकन गरेका थिए। उनको भ्रमणले तत्काल राहत र उद्धारसँगै दीर्घकालीन पुनर्स्थापना तथा पुनर्निर्माणमा नेपाल–चीन सहकार्यलाई निरन्तरता दिने सन्देश दिएको छ।








