सरकारप्रति रास्वपाभित्रै असन्तुष्टि बढ्दो, महामन्त्री आचार्य पनि आलोचनामा उत्रिए

ड्रागन मिडिया सम्वाददाता
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्र सरकारको कार्यशैलीप्रति असन्तुष्टि सार्वजनिक रूपमा देखिन थालेको छ। पार्टीका महामन्त्रीसमेत रहेका सांसद विपिन आचार्यले बिहीबार प्रतिनिधिसभामा आफ्नै पार्टी नेतृत्वको सरकारको कार्यसम्पादनमाथि कडा प्रश्न उठाएपछि रास्वपा र सरकारबीचको दूरीबारे चर्चा बढेको छ।
आचार्यले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त निजी व्यापारिक संरचना पुनर्निर्माण भइसके पनि सरकारले सिंहदरबार, गृह मन्त्रालय र संसदजस्ता राज्यका महत्वपूर्ण संरचनाको पुनर्निर्माणमा अपेक्षित गति लिन नसकेको टिप्पणी गरे। राज्यकै प्रमुख संरचनाको पुनर्निर्माण सुस्त हुँदा रसुवा र नुवाकोटका विपद प्रभावित नागरिकले आफ्नो पुनर्निर्माण प्रभावकारी रूपमा अघि बढ्ने विश्वास कसरी गर्ने भन्ने प्रश्न उनले उठाए।
पार्टी सभापति रवि लामिछानेनिकट मानिने महामन्त्री आचार्यको सार्वजनिक आलोचनालाई रास्वपाभित्र सरकारप्रतिको बढ्दो असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ। पार्टीका नेताहरूले सरकारलाई प्रभावकारी बनाउन सभापति लामिछानेले सहयोग र लचकता अपनाए पनि प्रधानमन्त्री पक्षबाट अपेक्षित गम्भीरता नदेखिएको गुनासो गर्न थालेको उल्लेख गरिएको छ।
रास्वपाका अन्य सांसद अमरेशकुमार सिंह, क्रान्तिशिखा धिताल र मधु चौलागाईंले पनि सरकारको कामकारवाहीमाथि सार्वजनिक रूपमा आलोचना गर्दै आएका छन्। उनीहरूले सरकार संविधान र संसदीय मर्यादाअनुसार सञ्चालन नभएको तथा प्रधानमन्त्रीका सल्लाहकार र सचिवालयको प्रभाव अस्वाभाविक रूपमा बढेको आरोप लगाएका छन्।
सरकारप्रति जनतामा देखिएको प्रारम्भिक आशा कमजोर हुँदै गएको अवस्थाप्रति पार्टी नेतृत्वसमेत चिन्तित रहेको रास्वपाका नेताहरूको भनाइ छ। सत्तारुढ दलकै प्रभावशाली पदाधिकारी र सांसदहरूले लगातार सरकारमाथि प्रश्न उठाउन थालेपछि आगामी दिनमा पार्टी नेतृत्व र सरकारबीचको सम्बन्ध कसरी विकसित हुन्छ भन्ने विषय राजनीतिक चासोको केन्द्रमा परेको छ।





