२६ भाद्र २०८३, शुक्रबार

तीन वर्षीया बालिका अपहरण तथा हत्या मुद्दामा मुख्य प्रतिवादी २० हजार धरौटीमा रिहा

ड्रागन मिडिया सम्वाददाता

बारा जिल्ला अदालतले तीन वर्षीया बालिकाको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका मुख्य प्रतिवादी प्रोग्रेस चौधरी भन्ने पुरगेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ।

न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बिहीबार चौधरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ७२ बमोजिम २० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानतमा रिहा गर्न आदेश दिएको हो। तोकिएको धरौटी वा जमानत दिन नसके कानुनबमोजिम थुनामा राख्न वीरगन्जस्थित कारागार कार्यालय पठाउन अदालतले निर्देशन दिएको छ।

मुद्दाका अन्य प्रतिवादी इन्द्रजित चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नवीन विक, टेकबहादुर थापा मगर, शेष हसमुदिन आलम, सबिता चौधरी र विन्दु देवी चौधरीविरुद्ध अभियोग दाबी पुष्टि गर्ने पर्याप्त प्रमाण तत्काल प्राप्त मिसिलमा नदेखिएको अदालतको ठहर छ। उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६९ बमोजिम तारेखमा राखी पुर्पक्ष गर्न आदेश दिइएको छ।

गत साउन ३१ गते बिहान खेलिरहेको अवस्थामा तीन वर्षीया बालिका हराएकी थिइन्। खोजतलासका क्रममा भदौ २ गते दिउँसो बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १ भक्तिनगरस्थित वीरबहादुर रोक्काको खाली घरमा बालिका मृत अवस्थामा फेला परेकी थिइन्।

जाहेरीमा मुख्य प्रतिवादी चौधरीले विद्युतीय लाइन जडान गर्ने बहानामा बालिकालाई खाली घरमा लगेर जबरजस्ती करणीपछि हत्या गरेको आरोप लगाइएको छ। यी आरोपको अन्तिम न्यायिक निरूपण भने मुद्दाको पूर्ण सुनुवाइपछि हुनेछ।

अदालतले मुद्दामा फरार रहेका अन्य प्रतिवादीका नाममा कानुनबमोजिम म्याद जारी गरी नियमानुसार पेस गर्नसमेत आदेश दिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button