२६ भाद्र २०८३, शुक्रबार

सूचना प्रविधिका परियोजनामा वैदेशिक लगानीकर्ताको आकर्षण बढ्दो

ड्रागन मिडिया सम्वाददाता

पछिल्लो समय नेपालमा सूचना प्रविधिसम्बन्धी परियोजनामा वैदेशिक लगानीकर्ताको आकर्षण उल्लेख्य रूपमा बढेको पाइएको छ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक लगानीका लागि स्वीकृत तथा प्रतिबद्धता प्राप्त कुल एक हजार ११६ परियोजनामध्ये ७२७ वटा सूचना प्रविधिसँग सम्बन्धित छन्। यो कुल परियोजनाको करिब ६५ प्रतिशत हो।

सो अवधिमा उत्पादनमूलक क्षेत्रमा ६३, ऊर्जामा चार, कृषिमा १८, पर्यटनमा २२७, सेवामूलक क्षेत्रमा ७१ र पूर्वाधारतर्फ दुई परियोजनामा वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ।

आर्थिक वर्ष २०८२/८३ मा विभिन्न परियोजनाका लागि करिब ५८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। यसअघि आर्थिक वर्ष २०८१/८२ मा ८४२ परियोजनाका लागि करिब ६४ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा वैदेशिक लगानी प्रतिबद्धता भएका परियोजनाको संख्या उल्लेख्य रूपमा बढे पनि कुल प्रतिबद्ध लगानी रकम भने केही घटेको देखिएको छ।

उद्योग विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार वैदेशिक लगानीकर्ताले आफूलाई बढी आकर्षक र सम्भावनायुक्त लागेका क्षेत्रलाई प्राथमिकता दिने गरेका छन्। सूचना प्रविधि क्षेत्रमा तुलनात्मक रूपमा कम पुँजीमा परियोजना सञ्चालन गर्न सकिने भएकाले यस क्षेत्रका परियोजनाको संख्या बढी देखिएको उनले बताए।

कतिपय ठूला परियोजनामा ठूलो परिमाणको लगानी प्रतिबद्धता आउने भएकाले कुल वैदेशिक लगानी रकममा सीमित परियोजनाले समेत महत्वपूर्ण प्रभाव पार्ने उनको भनाइ छ।

सूचना प्रविधि क्षेत्रमा बढ्दो वैदेशिक लगानीले नेपालमा डिजिटल सेवा विस्तार, सफ्टवेयर विकास, प्रविधि निर्यात तथा रोजगारीका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button