२६ भाद्र २०८३, शुक्रबार

राप्ती गाउँपालिकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गर्दै

ड्रागन मिडिया सम्वाददाता

दाङको राप्ती गाउँपालिकाले वडा कार्यालयसम्म पुग्न नसक्ने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त लाभग्राहीलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा दिन थालेको छ।

पञ्जीकरण शाखा प्रमुख नारायणबहादुर राउतका अनुसार सम्बन्धित वडा कार्यालयसँग समन्वय गरी टोलटोलमै पुगेर नवीकरण गर्ने अभियान सुरु गरिएको हो।

अभियान गाउँपालिकाको विकट क्षेत्र मानिने वडा नं. ९ बाट सुरु गरिएको छ। आवश्यकताअनुसार अन्य वडा तथा गाउँटोलमा पनि सेवा विस्तार गरिने उनले बताए।

सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा राष्ट्रिय परिचयपत्रसहित लाभग्राही स्वयं उपस्थित हुनुपर्ने व्यवस्थाका कारण ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्तलाई समस्या हुने गरेको थियो। यही कठिनाइलाई ध्यानमा राखेर घरमै सेवा दिन थालिएको गाउँपालिकाले जनाएको छ।

घरमै पुगेर सेवा दिँदा लाभग्राहीको अवस्था बुझ्न, आवश्यक कागजातबारे जानकारी दिन र नवीकरण प्रक्रिया सहज बनाउन सहयोग पुगेको राउतले बताए।

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि असोज मसान्तसम्म समय रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button