डेढ महिनापछि टरिगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज

ड्रागन मिडिया सम्वाददाता
दाङको टरिगाउँ विमानस्थलमा करिब डेढ महिनापछि नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत प्रदीप भुसालका अनुसार बिहीबार निगमको १९ सिटे जहाजले काठमाडौं–दाङ उडान गरेको हो। उक्त उडानमा काठमाडौंबाट आठ जना यात्रु दाङ पुगेका थिए भने दाङबाट चार जना काठमाडौं गएका थिए।
मौसमका कारण अनियमित बनेको दाङ–काठमाडौं हवाई सेवा अब नियमित सञ्चालन हुने भुसालले बताए।
उनका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शुक्रबार गरी सातामा चार दिन उडान सञ्चालन गरिनेछ। हाल हवाई भाडा करिब १२ हजार रुपैयाँ रहेको छ। उडान सेवा बिहान ९ बजेदेखि ११ बजेको बीचमा उपलब्ध हुने जनाइएको छ।
टरिगाउँ विमानस्थलको धावनमार्ग हाल ७५० मिटर मात्र लामो भएकाले १९ सिट क्षमताका साना जहाज मात्रै सञ्चालन गर्न सकिन्छ। सीमित क्षमताका जहाज र अनियमित उडानका कारण यस क्षेत्रका यात्रु नेपालगन्ज वा भैरहवा विमानस्थल प्रयोग गर्न बाध्य हुँदै आएका छन्।
विसं २०११ मा स्थापना भएको विमानस्थलको धावनमार्ग विस्तार गरी ठूला जहाज सञ्चालन गर्नुपर्ने माग लामो समयदेखि उठ्दै आएको छ। चालु आर्थिक वर्षमा विमानस्थल स्तरोन्नतिका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।





