भोटेकोशी बाढी प्रभावितका लागि सुनसरीका मुस्लिम समुदायबाट ६२ लाखभन्दा बढी सहयोग

ड्रागन मिडिया सम्वाददाता
भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सुनसरीका मुस्लिम समुदायले घरघरबाट रकम संकलन गरी ६२ लाख रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।
नेपाली मुस्लिम समाज सुनसरीको पहलमा संकलित ६२ लाख ४५ हजार ४९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
समाजका अनुसार जिल्लाका विभिन्न मुस्लिम बस्ती, मदरसा, मस्जिद, गैरसरकारी संस्था, निजी विद्यालय, व्यवसायिक संघसंस्था तथा व्यक्तिहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको थियो।
समाजका सुनसरी अध्यक्ष हारुल अन्सारीले संकलित रकम कोषमा जम्मा गरिएको भौचर सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई हस्तान्तरण गरिएको जानकारी दिए।
बाढी प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले समुदायस्तरबाट अभियान सञ्चालन गरी रकम जुटाइएको समाजले जनाएको छ।





