रुपन्देहीमा चौबीसै घण्टा पर्यटन सेवा सञ्चालन गर्न व्यवसायीको माग

ड्रागन मिडिया सम्वाददाता
रुपन्देही आध्यात्मिक तथा मनोरञ्जन पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा विकास भइसकेकाले जिल्लामा चौबीसै घण्टा पर्यटन सेवा सञ्चालन गर्न पाउनुपर्ने माग पर्यटन व्यवसायीले गरेका छन्।
पर्यटन पूर्वाधारमा ठूलो लगानी भइसकेको अवस्थामा सीमित समयसम्म मात्र होटल, रेष्टुरेन्ट तथा अन्य पर्यटन व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्थाले लगानीको प्रतिफलमा असर परेको व्यवसायीको भनाइ छ।
रुपन्देहीमा रात्रिकालीन व्यवसाय सञ्चालनका लागि तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पहलमा चार वर्षअघि कार्यदल गठन गरिएको थियो। कार्यदलको सुझावका आधारमा तयार कार्यविधि र तोकिएका मापदण्ड पूरा गरेका केही प्रतिष्ठानलाई स्थानीय प्रशासनको अनुमतिमा चौबीसै घण्टा सेवा सञ्चालन गर्न दिइएको थियो।
तर जिल्ला सुरक्षा समितिले गत साउन १३ गतेदेखि व्यवसायको प्रकृतिअनुसार राति १० बजेदेखि मध्यरात १ बजेसम्म मात्र सञ्चालन गर्न पाउने गरी नयाँ समय सीमा निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए।
नयाँ समय सीमा लागू भएपछि पर्यटन व्यवसाय प्रभावित भएको भन्दै होटल संघ नेपाल लुम्बिनी प्रदेशले तीन साताअघि स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको थियो।
जिल्ला प्रशासन कार्यालयले बिहीबार आयोजना गरेको सर्वपक्षीय छलफलमा संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले कोरोना महामारी, जेनजी आन्दोलन र पछिल्लो भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्र कमजोर बनेकाले व्यवसाय पुनरुत्थानका लागि चौबीसै घण्टा सेवा सञ्चालन गर्न दिनुपर्ने बताए।
उनले कानुन र मापदण्ड पूरा गरेका होटल, रेष्टुरेन्ट तथा स्पाजस्ता व्यवसायलाई सञ्चालनमा सहजीकरण गर्नुपर्ने बताए। प्रहरीको छापामार कारवाहीका कारण भारतीय पर्यटकमाझ नकारात्मक सन्देश गएको र त्यसले सीमावर्ती पर्यटन व्यवसायमा असर पारेको उनको भनाइ थियो।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जिल्लाका प्रमुख शहरी क्षेत्रलाई योजनाबद्ध रात्रिकालीन व्यवसाय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए। उनले बुटवलको राजमार्ग चौराहा, हस्पिटल लाइन, कालिका पथ र ट्राफिक चोकलाई त्यस्तो क्षेत्रका लागि उपयुक्त स्थानका रूपमा प्रस्ताव गरे।
उनले रात्रिकालीन अर्थतन्त्रलाई होटल र रेष्टुरेन्टमा मात्र सीमित नगरी बाहिरी जिल्लाबाट सामान खरिद गर्न आउने व्यवसायी तथा उपभोक्तालाई लक्षित गरी आवश्यकताअनुसार राति थोक बजारसमेत सञ्चालन गर्न सकिने धारणा राखे।
तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले नगरका प्रमुख क्षेत्रलाई रातिसम्म खुला राख्ने नीति अघि बढाइएको बताउँदै त्यसका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रशासनसँग आग्रह गरे।
तिलोत्तमामा निर्माण गरिएको म्युजिकल वाटर फाउन्टेनलगायत पर्यटकीय संरचनाको प्रभावकारी उपयोगका लागि रात्रिकालीन गतिविधि महत्वपूर्ण हुने उनको भनाइ थियो। पर्यटन पूर्वाधार र रात्रिकालीन बजारलाई एकीकृत रूपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँणले सीमावर्ती शहरलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न भारतीय पर्यटकको नेपाल प्रवेश थप सहज बनाउनुपर्ने बताए। चौबीसै घण्टा पर्यटन सेवा सञ्चालनले भारतीय पर्यटकको बसाइ र खर्च दुवै बढाउन सहयोग पुग्ने उनको भनाइ थियो।
जिल्ला प्रहरी प्रमुख एसपी जनक शाहीले पूर्णकालीन पर्यटन सेवा सञ्चालनका लागि प्रहरी सकारात्मक रहेको बताए। सुरक्षा व्यवस्थालाई प्रविधिमैत्री बनाउन काठमाडौं बाहिर पहिलोपटक स्मार्ट कन्ट्रोल रुम स्थापना गरिएको र असोज पहिलो सातादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी अर्यालले पहिलो चरणमा सिद्धार्थनगर, तिलोत्तमा र बुटवलका जनप्रतिनिधि, होटल व्यवसायी, उद्योग वाणिज्य संघ, संघसंस्था तथा सुरक्षा निकायसँग छलफल गरिएको बताए।
उनका अनुसार भारतीय पर्यटक आकर्षित गर्न २०७९ सालदेखि पूर्णकालीन व्यवसाय सञ्चालनको अनुमति दिइएको थियो। तर सुरक्षा चुनौती, दुर्घटनामा वृद्धि, समुदाय र व्यवसायीबीचको द्वन्द्व तथा केही प्रतिष्ठानले मापदण्ड पूरा नगरेपछि जिल्ला सुरक्षा समितिले नयाँ समय सीमा निर्धारण गरेको हो।
व्यवसायीहरू आवश्यक मापदण्ड पालना गर्न तयार भए चौबीसै घण्टा पर्यटन सेवा सञ्चालनका लागि प्रशासन सहजीकरण गर्न तयार रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।





