२ कार्तिक २०८३, आईतवार

चिनियाँ नाकाबाट चोभार सुक्खा बन्दरगाहमा सामान ल्याउन तोकियो रुट

नेपाल सरकारले काठमाडौँस्थित चोभार सुक्खा बन्दरगाहमा चिनियाँ नाकाबाट सिधै मालवस्तु ल्याउने गरी सडक मार्गको रुट तोकेको छ।

भन्सार विभागका अनुसार रसुवा भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयबाट सिधै मालवस्तु चोभार ल्याउने गरी रुट तोकेको अनलाइन खबरले लेखेको छ।

अब रसुवा भन्सार कार्यालयबाट टिमुरे–स्याफ्रुबेसी–धुन्चे–बेत्रावती–गल्छी–थानकोट–कलंकी–बल्खु हुँदै सुक्खा बन्दरगाह भन्सार कार्यालयसम्म सवारी लैजान पाइने भएको छ। उता, तातोपानी भन्सार कार्यालयबाट लार्चा–बाह्रबिसे–लामोसाँघु–खाडीचौर–दोलालघाट–पाँचखाल–धुलिखेल–बनेपा–साँगा–सूर्यविनायक–कोटेश्वर–बल्खु हुँदै चोभारस्थित बन्दरगाहसम्म सवारी लैजान पाइने भएको छ।

यसअघि २९ कात्तिकमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चोभारस्थित सुक्खा बन्दरगाहलाई चिनियाँ नाकाबाट आउने सामानका लागि पनि खुला गर्ने निर्णय गरेको थियो। सोही सूचनामा विभागले आन्तरिक परिवहनका लागि सडक मार्ग तोक्न सक्ने गरी तोकेको थियो। नाकाबाट सवारीसाधन सिधै सुक्खा बन्दरगार ल्याउने क्रममा विभिन्न सर्त तोकिएको छ।

सूचनामा उल्लेख भए अनुसार प्रचलित बैंकिङ प्रणाली मार्फत भुक्तानी हुने गरी पैठारी भएको हुनुपर्छ। चलान भएको स्थानबाट बन्दरगाह भन्सारसम्म नै सिपिङ कम्पनीबाट सञ्चालित स्तरीय सिपिङ कन्टेनरबाट कन्टेनर परिवर्तन नगरी ढुवानी गर्नुपर्छ।

प्रवेश गरेको सीमास्थित भन्सार कार्यालयबाट बन्दरगाह भन्सारसम्म भूमण्डलीय स्थिति निर्धारण प्रणाली (जीपीएस) जडित विद्युतीय ट्र्याकिङ प्रणाली भएको ताला लगाइएको हुनुपर्छ। तर, गुडाएर लैजाने नयाँ सवारीसाधनका हकमा जीपीएस आवश्यक छैन। काबुभन्दा बाहिरको परिस्थिति बाहेक आन्तरिक परिवहन लिएको ७२ घण्टाभित्र ढुवानी साधन काठमाडौं चोभार पुगिसक्नुपर्छ। यसरी आएको सवारीसाधन बिग्रिए वा दुर्घटनामा परे भन्सार प्रमुखलाई जानकारी गराउनुपर्ने सर्त राखिएको छ। सवारीसाधनलाई बाटोमा खोल्न, हेर्न र जाँच गर्न पाइने छैन।

Cri

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button