एमालेले सांसदहरूलाई बिआरआई र विदेश सम्बन्धबारे प्रशिक्षण दिने

नेकपा एमालेले संघीय संसदमा रहेका आफ्ना सांसदहरूलाई विदेश सम्बन्धका विषयमा प्रशिक्षण दिने भएको छ। एमालेको संसदीय विभाग प्रमुख योगेश भट्टराईका अनुसार आउँदो माघको पहिलो साता यस्तो प्रशिक्षण दिने गरी तयारी थालिएको छ। एमालेले सांसदहरूलाई प्रधानमन्त्रीको चीन भ्रमणमा भएको सम्झौता र समझदारी, बिआरआई र दक्षिण एसिया मामिलामा प्रशिक्षण दिन लागेको हो।
‘अबको दशकमा एसिया विश्व शक्ति हुन्छ भन्नेछ,’ भट्टराईले भने, ‘त्यो कसरी हुन्छ। यस्ता विश्व शक्तिबारे हाम्रो धारणा कस्तो हुनुपर्छ भन्ने विषयमा सांसदहरूलाई तालिम दिन लागिएको हो।’
एमालेका एक सांसदले माघ ७ गतेका लागि पार्टीको विदेश विभागले तालिम दिने तयारी भएको बताए।
‘रघुवीर महासेठ हाम्रो विदेश विभागमा हुनुहुन्छ। उहाँहरूले संसदीय विभागसँग मिलेर तालिम दिन लाग्नुभएको हो,’ ती सांसदले भने, ‘सांसदहरूलाई बिआरआईको फ्रेमवर्क सम्झौता लगायतका विषय बुझाउन लगेका हौँ।’
सेतोपाटी अनलाइनका अनुसार एक दिने प्रशिक्षणमा अन्य मुलुकहरूका विषयमा संसद र बाहिर धारणा राख्दा के ख्याल पुर्याउने भन्ने विषयमा एमालेले सांसदहरूलाई प्रशिक्षण दिन लागेको ती सांसदले बताए।
सांसदहरू अन्तर्राष्ट्रिय सम्बन्ध र विषयबारे अपडेट नहुने भएकाले जानकारी गराउन प्रशिक्षण राखिएको ती सांसदले बताए।
CRI





