अवरोधपछि दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास स्थगित

अख्तियारको दुरुपयोग गरेको विषयमा अनुसन्धान गर्ने दक्षिण कोरियाली निकायका अनुसन्धानकर्ताहरूले महाभियोग लागेर निलम्बनमा परेका राष्ट्रपति यून सुक यउललाई नियन्त्रणमा लिने प्रयासलाई स्थगित गरेका छन् ।
विज्ञप्तिमा अनुसन्धानकर्ताहरूले ‘निरन्तरको गतिरोधका कारण उनलाई पक्राउ गर्न व्यावहारिक रूपमा असम्भव देखिएको’ बताएका हुन् । ‘हामी कार्यस्थलमा रहेका हाम्रो टोलीको सुरक्षाबारे संवेदनशील छौँ। हामीले आरोप लागेका व्यक्तिले कानुनी प्रक्रियालाई अस्वीकार गर्ने प्रवृत्ति देखाएको पाएका छौँ…। उक्त कार्य व्यापक रूपमा निन्दनीय छ,’ वक्तव्यमा भनिएको छ ।
यउललाई पक्राउ गर्न के गर्ने भन्ने विषयमा पुनः एक पटक छलफल गरेर मात्र तय गरिने उनीहरूले जनाएका छन् ।
अनुसन्धानकर्ताहरूले निलम्बित राष्ट्रपति यउललाई पक्राउ गर्ने कार्यलाई स्थगित गरेपछि उनको निवासअगाडि जम्मा भएका समर्थकहरूले चाहिँ ‘हामीले जित्यौँ’ भन्दै नारा लगाएका छन् । उनलाई पक्राउ गर्न खोज्दा शुक्रबार बिहानैदेखि नाटकीय घटनाहरू भएका थिए ।
यउललाई पक्राउ गर्नका लागि उनको घरमा पुगेका प्रहरी अधिकारीहरूले उक्त स्थान छाडेका छन् । डिसेम्बर महिनाको सुरुमा छोटो अवधिका लागि कायम रहेको ’मार्शल ल’ लागु गरेको आरोपमा उनलाई पक्राउ गर्न खोजिएको हो ।
स्थानीय समयअनुसार बिहान ८ बजे सुरुमा २० जना प्रहरी अधिकारीहरू यउलको घरतर्फ गएका थिए । तर पछि उक्त सङ्ख्या बढाएर ८० पुर्याइएको थियो । यउलका वकिलहरूले उनीविरुद्ध जारी भएको पक्राउपुर्जीलाई ‘कानुनविपरीत’ भन्दै त्यसलाई चुनौती दिने बताउँदै आएका छन् । यउलको सुरक्षा दिने फौजले पनि उनलाई पक्राउ गर्नबाट रोकेको थियो ।
यसै साताको सुरुमा सोलस्थित एक अदालतले यउलविरुद्ध पक्राउपुर्जी जारी गरेको थियो । उनले डिसेम्बर ३ मा देशमा मार्शल ल लागु गर्ने प्रयास गरेका थिए। सोही आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
उनीमाथि देशद्रोहसहितका आरोपहरूमा अनुसन्धान भइरहेको छ । त्यसक्रममा उनलाई अदालतले सोधपुछका लागि तीन पटक बोलाइसकेको छ । तर उनले त्यसको अवज्ञा गर्दै अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
Nepal Samaj





