आक्रामक कारबाहीका लागि विदेशमा सेना नपठाउने टर्कीको स्पष्टोक्ति

ड्रागन मिडिया समाचार कक्ष
टर्कीका विदेशमन्त्री हाकान फिदानले मक्का गठबन्धन रक्षात्मक प्रकृतिको भएको भन्दै त्यसअन्तर्गत आक्रामक कारबाहीमा सहभागी हुन टर्कीले अर्को देशमा सेना नपठाउने बताएका छन्। कुनै सहभागी देशमाथि आक्रमण भए त्यसको प्रतिरक्षामा साथ दिने व्यवस्था मात्र गठबन्धनमा रहेको उनको भनाइ छ।
फिदानका अनुसार गठबन्धनअन्तर्गतका सैन्य प्रतिनिधिमण्डलले साउदी अरबलाई आवश्यक पर्ने प्रतिरक्षात्मक उपाय र टर्की तथा पाकिस्तानले गर्न सक्ने योगदानबारे संयुक्त रूपमा काम गर्नेछन्। साउदी अरबसँग पर्याप्त सैन्य तथा प्राविधिक पूर्वाधार र उपकरण भए पनि संयुक्त योजना, सञ्चालन र विश्लेषण आवश्यक रहेको उनले बताए।
साउदी अरब र हुथी आक्रमणसँग जोडिएको परिस्थितिलाई क्षेत्रीय सन्दर्भमा हेरिरहेको उल्लेख गर्दै फिदानले पक्षहरूबीच शान्ति र संवादबाट समाधान खोज्न टर्कीले प्रयास गरिरहेको बताए। अन्तर्राष्ट्रिय तहमा राजनीतिक पहलमार्फत क्षेत्रीय शान्तिमा योगदान गर्ने उपायबारे पनि विचार भइरहेको उनले बताए।
यसअघि मिडिया रिपोर्टमा टर्कीले महत्वपूर्ण पूर्वाधार र पवित्र स्थलको सुरक्षाका लागि सीमित सैनिक टोली र उपकरण साउदी अरब पठाउनेबारे विचार गरिरहेको उल्लेख थियो। तर त्यस्तो योजनाले यमनमा प्रत्यक्ष युद्धमा सहभागी हुने परिकल्पना नगरेको रिपोर्टमा जनाइएको थियो।





