चीन र बेलायतबीच आर्थिक तथा वित्तीय सहकार्य बढाउने विषयमा छलफल

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ र बेलायतका अर्थमन्त्री जोन हिलीबीच बिहीबार भिडियो संवाद भएको छ। उनीहरूबीच दुई देशबीचको आर्थिक तथा वित्तीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको सिन्ह्वाले जनाएको छ।
चीन–बेलायत आर्थिक तथा वित्तीय संवादमा चिनियाँ पक्षको नेतृत्व गर्ने हेले दुवै देशका नेताबीच भएका महत्त्वपूर्ण सहमतिलाई संयुक्त रूपमा कार्यान्वयन गर्नुपर्ने बताए। आर्थिक तथा वित्तीय क्षेत्रमा आदानप्रदान र सहकार्य थप सुदृढ गर्ने, एकअर्काका मूल हितको सम्मान गर्ने र पारस्परिक लाभ तथा साझा उपलब्धिका लागि काम गर्नुपर्ने उनको भनाइ थियो।
त्यसबाट दुई देशबीचको आर्थिक सम्बन्ध स्थिर र सकारात्मक रूपमा अघि बढाउन मद्दत पुग्ने हेले बताए। संवादमा बेलायती पक्षको नेतृत्व गर्ने हिलीले पनि आर्थिक तथा वित्तीय क्षेत्रमा चीनसँग संवाद र सहकार्य बढाउन तथा बेलायत–चीन सम्बन्धलाई निरन्तर अघि बढाउन आफ्नो देश इच्छुक रहेको बताए।





