मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा, नाकाबन्दी कायम रहने

ड्रागन मिडिया समाचार कक्ष
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने बताएका छन्। अमेरिका र इरानबीच भइरहेको वार्ता फलदायी रहेको उल्लेख गर्दै उनले इरानको अर्थतन्त्र र सैन्य अवस्था निकै खराब रहेको दाबी गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै अमेरिकी नाकाबन्दी भने पूर्ण रूपमा कायम रहने बताएका छन्। उनका अनुसार रातारात होर्मुज जलडमरूमध्यबाट २ करोड २० लाख ब्यारेल तेल ओसारिएको थियो, जसमा इरानबाट आएको वा इरानतर्फ लगिएको तेल समावेश थिएन। उनले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिने पनि दोहोर्याएका छन्।
यसबीच, ‘फाइनान्सियल टाइम्स’ले होर्मुज जलडमरूमध्यबाट हुने तेल आवागमनमा तीव्र गिरावट आएको जनाएको छ। प्रारम्भिक तथ्याङ्कअनुसार मंगलबार उक्त जलमार्गबाट ४० लाख ब्यारेल तेल ओसारिएको थियो। सेप्टेम्बरको अन्त्यतिर दैनिक औसत १ करोड ५० लाख ब्यारेल तेल ओसारिने गरेको थियो।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध संयुक्त सैन्य कारबाही सुरु गर्नुअघि सन् २०२५ को अन्तिम त्रैमासिकमा होर्मुज जलडमरूमध्यबाट दैनिक औसत २ करोड १६ लाख ब्यारेल तेल ओसारिने गरेको अमेरिकी ऊर्जा सूचना प्रशासनको तथ्याङ्कमा उल्लेख छ। यो परिमाण विश्वको कुल तेल खपतको करिब पाँचौँ भाग बराबर थियो।





