बेनी–जोमसोम–कोरला सडक मर्मत अन्तिम चरणमा, सुरक्षित यातायात अझै चुनौतीपूर्ण

ड्रागन मिडिया सम्वाददाता
असोज ८ देखि ११ गतेसम्मको बाढीपहिरोले क्षति पुर्याएको बेनी–जोमसोम–कोरला सडकको मर्मत अन्तिम चरणमा पुगेको छ। तर नियमित र सुरक्षित यातायात सञ्चालन गर्न थप काम बाँकी रहेकाले तत्काल अत्यावश्यक सवारीसाधन र राहत सामग्री बोकेका गाडीलाई प्राथमिकता दिइएको छ।
२०२ किलोमिटर लामो सडकका ५० भन्दा बढी ठाउँमा पहिरो खसेको र दश ठाउँमा कालीगण्डकीको कटानले सडक बगाएको थियो। म्याग्दी खण्डको ३३ किलोमिटरमध्ये २० किलोमिटरभन्दा बढी सडकमा क्षति पुगेको छ। कुनौटा भिर र पोखरेबगर पुलको पहुँचमार्ग तयार भएपछि बिहीबार साँझ अत्यावश्यक सवारीसाधन वारपार गरेका थिए।
सडक योजनाका प्रमुख तेजस्वी शर्माका अनुसार पहिरो पन्छाउने, भासिएका र कटान भएका ठाउँ भर्ने तथा सतह मिलाउने काम बाँकी छ। आइतबारसम्म मर्मत पूरा गरी सोमबारदेखि यातायात सञ्चालन गर्ने कार्ययोजना बनाइएको उनले बताए।
संघीय सडक सुपरीवेक्षण कार्यालयका प्रमुख नरेन्द्र सुवेदीले बाढीबाट सडकमा करिब ९० करोड रुपैयाँ बराबरको क्षति भएको र नयाँ डिजाइनअनुसार पुनर्निर्माण गर्न थप तीन अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको बताए। यस वर्षको बाढीले सडक योजना सुरु भएयताकै ठूलो क्षति गरेको उनको भनाइ छ।
कोरलानाकाबाट आयात गरिएका सामान बोकेका ५०० भन्दा बढी कन्टेनर मुस्ताङ र म्याग्दीका विभिन्न स्थानमा रोकिएका छन्। दसैँतिहारको यातायात चाप, मुस्ताङको स्याउ र आलु ढुवानी तथा पर्यटक आवागमन व्यवस्थापन गर्न म्याग्दी र मुस्ताङका सुरक्षा निकायले संयुक्त योजना बनाउँदै छन्। सडक सहज नहुँदासम्म घुमघामका लागि आउने यात्रुलाई भ्रमण केही दिन पछि सार्न प्रशासनले आग्रह गरेको छ।





