श्रमिकलाई चाडपर्व खर्च दिन रोजगारदातालाई सरकारको निर्देशन

ड्रागन मिडिया सम्वाददाता
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता र प्रतिष्ठानलाई श्रमिकलाई चाडपर्व खर्च उपलब्ध गराउन निर्देशन दिएको छ। विभागले श्रम ऐन, २०७४ को व्यवस्था कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ।
ऐनको दफा ३७ अनुसार प्रत्येक श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार मनाइने चाडपर्वका लागि आफूले पाउँदै आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम पाउनुपर्छ। रोजगारदाताले तोकिएको समयभित्र उक्त खर्च उपलब्ध गराउनुपर्ने विभागले जनाएको छ।
चाडपर्व खर्च नपाएका श्रमिकले आफ्नो कार्यक्षेत्रअन्तर्गतको श्रम तथा रोजगार कार्यालय वा विभागमा उजुरी दिन सक्नेछन्। कानुनले दिएको अधिकारबाट श्रमिकलाई वञ्चित नगर्न र व्यवस्था पूर्ण रूपमा पालना गर्न विभागले रोजगारदाता तथा प्रतिष्ठानलाई आग्रह गरेको छ।





