कर्णालीमा चाडपर्व सुरक्षा योजना : ५ हजार ३१४ प्रहरी परिचालन गरिने

ड्रागन मिडिया सम्वाददाता
दसैँ, तिहार, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशका दशवटै जिल्लामा ५ हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ। प्रदेश प्रहरी कार्यालयले असोज २५ देखि कात्तिक ३० गतेसम्म लागू हुने चाडपर्व सुरक्षा योजना तयार गरेको जनाएको छ।
योजनाअन्तर्गत मोबाइल, मोटरसाइकल र पैदल गस्तीका साथै द्रुत प्रतिकार्य टोली परिचालन गरिनेछ। प्रदेशभर ६७ स्थानमा विशेष, नियमित तथा आकस्मिक जाँच र ४७ स्थानमा ट्राफिकसहित संयुक्त जाँच गरिनेछ। धार्मिक तथा पर्यटकीयस्थल, बैंक तथा वित्तीय संस्था र बजार क्षेत्रमा पनि सुरक्षा निगरानी बढाइनेछ।
चाडपर्वका बेला हुन सक्ने अपराध, झैझगडा र हुलदङ्गा नियन्त्रण गर्नुका साथै कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि र ठगी रोक्ने योजना रहेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटाले बताए। सवारी दुर्घटना न्यूनीकरण र नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने व्यवस्था मिलाउनु पनि योजनाको उद्देश्य रहेको उनले बताए।





